नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

९ बर्षदेखि थलापरेका राईको राज्यमन्त्री गजमेरद्वारा उद्धार

ओखलढुङ्गान्युज, मंसिर २०, २०७७ विराटनगर आर्थिक अभावका कारण उपचार गर्न नसकी थला परेका भोजपुरको षडानन्द नगरपालिका वडा नं. ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका राईको प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिवार उद्धार गर्नुभएको हो ।

पहिचान हुन नसकेको रोगका उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको थियो ।  घरमा भएको राईको एक मात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवैजनालाई उद्धार गरि शनिवार विराटनगरको मानव सेवा आश्रममा ल्याईएको छ ।

राईको बाबुछोराको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताउनुभयो । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरुको उद्धार तथा पुर्नस्थापनाको काममा प्रदेश सरकार लागेको राज्यमन्त्री गजमेरले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको गजमेरको भनाई छ । उद्धार गरिएका राईको थप स्वास्थ्य परीक्षण पछि मात्रै रोगबारे थाहा हुने मानव सेवा आश्रम प्रदेश १ संयोजक नवराज केसीले बताउनुभयो ।