नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

डेढकिलो सालकको खपटा सहित ओखलढुङ्गावाट राई पक्राउ

ओखलढुङ्गान्युज, मंसिर १९, २०७७ ओखलढुङ्गा ओखलढुङ्गा प्रहरीले सालकको खपटा र एक थान लोपोन्मुख मृत चरा सहित एकजना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका वडा नं. १ साविकको ओख्रे गाविसका ईच्छा कुमार राई रहेका छन् ।

विहिवार नियमित चेकजाँचको क्रममा प्रहरीले शंकालागेर चेकजाँच गर्दा राईले बोकेको झोला र शरिरवाट डेढ केजी अर्थात १ किलो ५ सय ७० ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित उनलाई पक्राउ गरेको हो । राईको झोलावाट कपडा भित्र राखेको अवस्थामा ९ सय ३५ ग्राम र सेतो प्लाष्टिक भित्र राखेको दुईपोकाको ६ सय ३५ ग्राम र तिन वटा हरियो रंगको कार्वन भित्र मृत खैरो कालो रंगको चरा थान १, वेरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

राईलाई नियमित चेकजाँचको क्रममा मानेभञ्ज्याङ्ग गाउँपालिकाको हर्कपुरमा रहेको प्रहरीले विहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । पक्राउ परेका राईलाई सामान सहित नै शुक्रबार आवश्यक कार्बाहीको लागि डिभिजन बन कार्यालय ओखलढुङ्गा पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।