नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

विराटनगर सहिद रंगशालामा फ्लड लाइटको काम सुरु

ओखलढुङ्गान्युज, मंसिर १९, २०७७ विराटनगर सहिद रंगशाला विराटनगरमा विहिबारवाट फ्लड लाइट जडानको काम शुरु भएको छ । विराटनगरको  सहिद रंगशालामा फ्लड लाइट जडानका लागि मास्ट राख्ने कार्य विहिबारवाट सुरु भएको हो ।

रंगशालामा मास्ट राख्ने कार्यको शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सहिद रंगशालालाई समयानुकुल अत्याधुनिक रंगशालाका रुपमा निर्माण गर्ने बताउनुभयो । मन्त्री घिमिरेले कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिती हेरेर चाडै पिहद रंगशालामा खेलकुद गतिविधि सुरु गर्न सकिने बताउनुभयो । मन्त्री घिमिरेले संरचना निर्माणमा जोड दिदैं रंगशालाको पुराना संरचना सुधार र मर्मत गरि सुविधा सम्पन्न बनाइने बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सहिद रंगशालाको प्याराफिटको स्तरोन्नतीमा विशेष ध्यान दिइने बताउनुभयो । महानगरमा खेलकुद गतिविधिलाई तीव्रता दिन गुरुयोजना भएपनि बजेट अभावका कारण पूर्णता दिन नसकिएको महानगर प्रमुख पराजुलीले बताउनुभयो ।

भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाईएको लाइट जडानका लागि हाल १० जना प्राबिधिकहरुले काम गरिरहेका छन् । आर्थिक वर्ष २०७६/७७ को असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो । 

लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको ठेकेदार कम्पनी अमर जेभीले बताएको छ । फ्लड लाइट जडानका लागि सामाजिक विकास मन्त्रालय विराटनगरले ४ करोड २९ लाख रुपैयामा सम्झौता दिएको हो ।