नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मोलुङमा बन्ने अस्पताललाई डेढ करोड बढिको जग्गा निशुल्क दान

ओखलढुङ्गान्युज, मंशिर , २०७७ प्राप्चा ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा बन्ने १५ शैयाको अस्पताल बरुणेश्वरको रामपुरमा बन्ने भएको छ । रामपुरमा निर्माण हुने उक्त अस्पतालका लागि स्थानीयवासीहरुले चलनचल्तीको मूल्यमा करीब डेढ करोड अर्थात १ करोड ५० लाख भन्दा बढिको ९ रोपनी जग्गा निशुल्क दान गरेका छन् ।

साविकको बरुणेश्वर गाविस हालको मोलुङ गाउँपालिका वडा नं. २ रामपुरमा निर्माण हुने उक्त अस्पतालका लागि रामपुरका प्रख्यात समाजसेवी ‘राईटर’ गङ्गा प्रसाद दाहालको स्मृतिमा उहाँको परिवारको तर्फवाट ९ रोपनी जग्गा निशुल्क दान गर्नुभएको मोलुङ गाउँपालिकाका सूचना अधिकृत गोपाल नेपालले जानकारी दिनुभयो । जग्गादाताहरुले अस्पतालको नाममा विहिबार नै जग्गा पास गरिदिएको पनि सूचना अधिकृत नेपालले बताउनुभयो ।

‘राईटर’ गङ्गा प्रसाद दाहालको स्मृतिमा रमा दाहालले ५ रोपनी ५ आना ५ पैसा,  चतुर्भुज दाहालले १ रोपनी १३ आना १ पैसा, उत्तम कुमार दाहालले १४ आना २ पैसा २ दाम  र सन्तोष दाहालले १४ आना ३ पैसा २ दाम गरि जम्मा ९ रोपनी जग्गा अस्पतालको नाममा निशुल्क दान गर्नुभएको हो ।

निर्माणाधिन अस्पतालका लागि पहिलो चरणमा गाउँपालिकामा कूल बजेटको ९.८ प्रतिशत अर्थात ७० लाख रुपैया प्राप्त भएको सूचना अधिकृत नेपालले जानकारी दिनुभयो । नेपालका अनुसार उक्त बजेट पहिलो चरणमा रामपुरको स्वास्थ्य चौकीको स्तरोन्नतीमा खर्च हुनेछ ।