नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

चिशंखुगढीमा १० वर्षदेखी ६ ओटा योजना अलपत्र, कुन् कुन् हुन् ?

ओखलढुङ्गान्युज, असोज २०, २०७७ । चिशंखुगढी । ठूलो रकमको ठेक्का घटाघटमा कम्पिडिसन गरेर हाल्ने, अनि नाफा कम हुन थालेपछि काम नै छाडेर भाग्ने । कतिपय योजनाको ठेक्कामा भागविलो लगाएर हाल्ने, अनि वर्षैपिच्छे म्याद थपगर्दै रहने तर काम नगर्ने । यो रोग ओखलढुङ्गाको मात्र हैन । नेपालमा चलि आएको परम्परा जस्तै भएको छ ।

यस्तो संस्कारलाई निरन्तरता दिदै चर्चित र ठूला भनौदा ठेकेदार कम्पनीहरुले सरोकारवालाहरुलाई प्रभावमा पारेर स्वार्थपूर्ति गर्दै आएका छन् । ठेकेदार पनि मोटाउने अनि सरकारी कार्यालयका केही व्यक्ति पनि । अनि काम न सम्पन्न हुन्छन्, न त सम्पन्न भएकाको गुणस्तर । आखिर पिडामा फेरी नागरिक नै । राष्ट्रसेवक भनिने र नागरिकले निर्वाचित गराएकाहरु पनि विभिन्न बहानामा त्यसलाई पूरा गर्न वा निरन्तरता दिन चासो राख्दैनन् ।

ठेकेदारहरुले सम्झौता गरेका तर दशकौं देखी योजना अलपत्र अबस्थामा रहेको स्थानीय तहहरु मध्ये चिशंखुगढी गाउँपालिका पनि एक हो । जनप्रतिनिध निर्वाचित भएको ३ वर्ष पुगेर चार वर्ष लाग्दै गर्दा चिशंखुगढी गाउँपालिकाले भने चासो देखाएको छ । बैठकबाट नै निर्णय गरेर चिशंखुगढी गाउँपालिकाले ठेकेदारले जिम्मा लिएर १० वर्षदेखि अधुरै छाडेका अलपत्र योजना खोज्ने अभियानमा लागेको छ ।

अभियान सञ्चालन गर्नुपूर्व गाउँपालिकाले ठेक्का लागेर पनि १० वर्ष देखी अलपत्र अवस्थामा रहेको २ ओटा स्वास्थ्य चौकी र ४ ओटा मोटरेवल पुल सहित ६ ओटा योजनाको खोजी गरि कामलाई निरन्तरता दिने निर्णय गरेको छ । जनप्रतिनिधी निर्वाचित भएर आएको तिन वर्ष वितिसक्दा पनि कुनै ठेकेदार सम्पर्कमा आएका छैनन् । अलपत्र अबस्थामा रहेका योजनाका कुनै काम  सुरुवात पनि भएको छैन

योजनाहरु अलपत्र नै रहेपछि अबस्था खोजी गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गाउँपालिकाले निर्णय गरेको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो । सरोकारवाला सबै पक्षसँग छलफल गरेर अलपत्र योजना पूरा गराउन तर्फ आफुहरु लागिपरेको अध्यक्ष शर्माको भनाई छ । काम नगर्ने ठेकेदारसँग भने सम्झौता रद्ध गर्ने विषयमा समेत छलफल अघि बढाईने गाउँपालिका अध्यक्ष शर्माको भनाई छ ।

पालिकामा अलपत्र अवस्थामा रहेका ६ ओटै योजनाहरु संघिय सरकार अन्तर्गत सञ्चालन हुनुपर्ने योजनाहरु हुन् । यी योजनाको स्थानीय तहको पुनर्संरचना हुनुअघि नै ठेक्का लागेको हो । ठेक्का लागेर काम सुरु भएपनि अलपत्र छाडिएकाले गाउँपालिकाको विकास निर्माणमा पछाडि धकेलिएको छ । त्यसैले त्यसको खोजी गरेर सम्पन्न गर्न संघीय सरकारका निकायमा लेखिपठाइएको गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।

अलपत्र अबस्थामा रहेका स्वास्थ्य चौकीहरुमा वडा नं. १ को कुईभिर स्वास्थ्य चौकी र वडा नं. ४ को रातमाटे स्वास्थ्य चौकी रहेका छन् । यी दुवै निर्माणाधिन स्वास्थ्य चौकीको आधा निर्माण गरिएका छन् । लामो समयसम्म काम नहुदा आधा निर्माण भएको भवन अहिले जिर्ण बनिसकेको छ । दुवै स्वास्थ्य चौकी भवनको तत्कालीन जिल्ला प्राविधिक कार्यालय मार्फत ठेक्का लागेको हो । तर संघीयताको कार्यान्वयनसँगै प्राबिधिक कार्यालय खारेज भएको छ भने भवन निर्माण गर्ने जिम्मेवारी लिएको ठेकेदार सम्पर्क विहीन भएका छन् ।

त्यस्तैगरि, सिद्धिचरण नगरपालिका र चिशंखुगढी जोड्ने ठोट्नेखोला ओडारे, रुम्जाटार ठोट्नेखोला धनमुडा र ठोट्नेखोला तिलङ्गे गरि तिनओटा पक्की पुल अलपत्र छन् । भवन निर्माणको काम केही मात्रामा भएको भएपनि पुलको काममा भने जग समेत हालिएको छैन । ठोट्नेखोलामा पुल नबन्दा जिल्ला सदरमुकामबाट करीब साढे २ घण्टाको दुरीमा रहेको पालिका मुकाम पुग्न झण्डै ५ घण्टाको यात्रा तय गर्नुपर्ने बाध्यता छ । उता चिशंखुगढी–खोटाङ जोड्ने दुधकोसी सिलौरीघाटको पक्की पुल पनि अलपत्र नै रहेको छ ।