नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

अर्घाखाँचीका प्रजिअ, सहायक प्रजिअ दुवैलाई कोरोना

ओखलढुङ्गान्युज, असोज १६, २०७७ ओखलढुङ्गा पछिल्लो समय कोरोना संक्रमणको दर उच्च बन्दै जादा अर्घाखाचीका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दुवैजनालाई कोरोना संक्रमण भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा सहित सुरक्षा गार्डलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

विगत एकहप्ता देखी अर्घाखाचीमा भएको विपदजन्य घटनाका उद्धार तथा पुनःस्थापना लगायतका विभिन्न कार्यहरुमा निरन्तर स्थानीयसँग भेटघाटमा दुवै जना व्यस्त रहनुभएको थियो । स्थानीयहरुसँग भेटघाटको क्रम तिब्र भैरहेको बेला सुरक्षा गार्ड सहित उहाँहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

जिल्लाका सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिका–१२ को कोठिया मैदानका पहिरोपीडितलाई राहत वितरण गरेर फर्केपछि उहाँहरुमा ज्वरो र रुघाखोकी देखिएको थियो । ज्वरो र रुघाखोकी लागेर थलिएका प्रजिअ पौडेलको बिहीबार कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । प्रमुख जिल्ला अधिकारीको स्वाबलाई परीक्षणका लागि कोभिड–१९ परीक्षण प्रयोगशाला गुल्मी पठाइएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका सहायक प्रजिअ थापालाई भने अहिलेसम्म लक्षण देखिएको छैन । दुई दिनसम्म पहिरोस्थल भुजुंगे र कोठिया मैदानमा राहत वितरण गरेको दिनबाटै ज्वरो, रुघाखोकी र शरीर दुख्ने समस्या देखिएपछि पिसिआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको पौडेलले बताए। अहिले पौडेल र थापा दुवै जना होम आइसोलेसनमा रहनुभएको छ ।