नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

साच्चै नेपालको क्षत्रफल कति होला ?

ओखलढुङ्गान्युज, भदौ ३०, २०७७ काठमाण्डौं । पहिला जे भएपनि लिम्पियाधुरा समेत समेटेर नेपालले नेपालको नक्शा सार्वजनिक गरेपछि नेपालका कूल क्षत्रफल कति भनेर चासोको विषय बनिरहेको छ । केहीले अनुमानका आधारमा नेपालको क्षेत्रफलका बारेमा तथ्यांक दिइरहेका छन् । हामीलाई पनि जिज्ञासा छ, साच्चै नेपालको क्षत्रफल कति होला ?

यसै जिज्ञासालाई मेटाउदै  पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ । उक्त पाठ्यपुस्तक मंगलबार एक कार्यक्रमका बिच सार्वजनिक भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालको क्षेत्रफल समेटिएको‘नेपालको भू–भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक मंगलबार सार्वजनिक गर्नुभएको छ । उक्त पुस्तकका अनुसार अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१ दशमलब २८ वर्ग किलोमिटर रहेको छ ।

पुस्तकमा नेपालको पश्चिम–उत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको क्षेत्रफले करिब ४६० दशमलब २८ वर्ग किलोमिटर भू–भाग समावेश गरिएको छ । यसअघि मान्दै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन ।

नेपाल सरकारले गत २०७७ जेठ ७ मा सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा अनुसार पुस्तक तयार पारिएको लेखकहरुले बताएका छन् । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को भदौ १९ गते बसेको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्विकृति दिने निर्णय गरिसकेको छ ।