नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओखलढुङ्गा कांग्रेस उपसभापति खनाल सहित १८ जनालाई कोरोना

विवेश श्रेष्ठ, भदौ २९, २०७७ ओखलढुङ्गा नेपाल कांग्रेसका जिल्ला उपसभापति तेजेन्द्र खनाललाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । गत मंगलवार ओखलढुंगामा ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएसँगै कन्ट्रयाक्ट ट्रेसिंगका क्रममा १ सय २ जनाको स्वाब पठाईएकोमा उपसभापति खनाल सहित १८ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको हो ।

आईतवार आएको रिपोर्टमा उपसभापति खनाल सहित जिल्लामा एक पत्रकारमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । ओखलढुङ्गाका एक अनलाईनका प्रकाशक तथा सम्पादकलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको हो । यो संगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमण हुने पत्रकारको संख्या दुई पुगेको छ ।

नागरिकहरुको विरोधका बाबजुद पनि जिल्ला वाहिरवाट आएकाहरुको लापरवाहिका कारण अहिले जिल्लाको समुदाय स्तरमा समेत कोरोना संक्रमण फैलिएको हो कि भन्ने आशंका उब्जिएको छ । आईतवार रिपोर्ट आएकाहरुमा अधिकांश जिल्ला समन्वय समितिका सभापतिका परिवार र उहाँहरुको परिवारको सम्पर्कमा आएका व्यक्तिहरु देखिएका छन् ।

त्यस्तै लामो समयसम्म बाहिर बसी कोरोनाका कहरको बेला जिल्ला भित्रिएका व्यक्तिहरुमा समेत कोरोना संक्रमण देखिएको छ । लामो समयसम्म बाहिर बसी गाउँमा आउदा खुशीयालीमा दर्जनौ व्यक्तिलाई जम्मा गरि भोज खुवाएकामा उनैमा कोरोना संक्रमण पुष्टि भएको छ । भोजमा सहभागी भएका अन्यमा पनि कोरोना परीक्षण गर्दा तत्काल संक्रमण पुष्टि नभएपनि भाईरस अरुमा समेत सरेको हुनसक्ने आशंका गरिएको छ ।

आईतवार संक्रमण पुष्टि भएकाहरुमा अधिकांश जिल्ला समन्वय प्रमुखका परिवार, समन्वय प्रमुखका सवारी चालक तथा उनको परिवारमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाब परीक्षणका लागि पठाईएको केही समयसम्म होम क्वारेन्टाईनमा बस्न जिल्ला प्रशासनले अनुरोध गर्दा गर्दै पनि केही व्यक्तिहरु बाहिर अरु व्यक्तिहरुको सम्पर्कमा रहेकोले अरुमा पनि थप संक्रमण हुनसक्ने आशंका जनमानसमा पैदा भएको छ ।

थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित भएका केहीलाई जिल्ला अस्पतालको आईशोलेसनमा र केहीलाई सामुदायीक अस्पतालको आईशोलेसनमा आईतवार साँझ नै पठाईएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । जिल्ला कमाण्ड पोष्टले शोमबार विहानै देखी संक्रमितहरुमा सम्पर्कमा आएका थप व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गरेको छ ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको केही दिनमा स्वाब संकलन गरि परीक्षणका लागि पठाईने सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो । यस अबधिमा प्रशासनको सूचना अनुसार उच्च स्वास्थ्य शतर्कता अपनाएर मात्र आफ्नो अत्यावश्यक गतिबिधी सञ्चालन गर्न सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले सबैमा आग्रह गर्नुभयो । प्रशासनको उक्त सूचनालाई अवज्ञा गर्नेलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० अनुसार कार्बाही गरिने समेत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।