नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

सिन्धुपाल्चोकको नागपुजेमा पहिरो, १२ घर पुरिदा २२ वेपत्ता, २ को शब भेटियो

ओखलढुङ्गान्युज, भदौ २८, २०७७ । काठमाण्डौं । सिन्धुपाल्चोक जिल्लालाई आईतवार विहानै फेरी अर्को विपत्ती आईलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिका वडा नं. ७ घुम्थाङको नागपुजे र भीरखर्कमा पहिरोमा परि १२ घर पुरिदा २० जना बेपत्ता भएका छन् भने २ जनाको शब फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार क्षतिको एकिन विवरण अझसम्म पनि आईसकेको छैन । घटनास्थलमा भर्खरै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ ।  जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नागपुजेको पहिरोमा वेपत्ता भएका मध्ये ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको छ । त्यस्तै भीरखर्कमा गएको पहिरोमा परि वेपत्ता भएकाहरु मध्ये पहिरोले पुरिएको ठाउँमा २२ वर्षीया जुनु विकको शव भेटिएको छ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग केन्द्रले जनाएको छ । भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

आफ्नो जिल्लामा पहिरो गएको जानकारी पाएसँगै सभामुख अग्निप्रसाद सापकोटा बिहानै घटनास्थलतर्फ जानुभएको छ । उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटा स्थलमार्ग हुदै त्यसतर्फ जानुभएको हो ।