नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

ओखलढुङ्गामा थपिए ९ जना कोरोना संक्रमित

विवेश श्रेष्ठ, भदौ २३, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा मंगलबार ९ जना कोरोना भाईरस संक्रमितहरु थपिएका छन् । ओखलढुङ्गावाट पठाईएको पछिल्लो ८१ जनाको स्वाब मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

मंगलबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले एक सूचना जारी गर्दै कोरोना भाइरसका बारेमा जिल्लामा उच्च शतर्कता अपनाउन सबैलाई अपिल गरेको छ । संक्रमित सबैलाई अहिले जिल्ला अस्पताल रुम्जाटारमा रहेको आईशोलेसनमा उपचारका लागि लाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

संक्रमित मध्येका केही व्यक्तिहरु जिल्लाका धेरै नागरिकहरुको सम्पर्कमा रहेकोले बुधबारवाट उनीहरुको ट्रेसिङ गरि स्वाब संकलन गर्ने तयारी भैरहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सिद्धिचरण नगरपालिकासँग समन्वय गरेर सदरमुकाममा शनिबार र बुधबार लाग्ने हटिया अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । सदरमुकामका अन्य बजार तथा पसलहरुमा भने स्वास्थ्यमा उच्च शतर्कता अपनाउदै सम्बन्धित पक्ष संबेदनशिल भएर कारोबार गर्न आग्रह गरेको छ ।