नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

स्वाब लिएर ओखलढुङ्गावाट गएको गाडी सिराहामा दुर्घटना

ओखलढुङ्गान्युज, भदौ २१, २०७७ ओखलढुङ्गा शनिवार ओखलढुङ्गाबाट ५१ जनाको स्वाब लिएर विराटनगर तर्फ जादै गरेको गाडी सिराहामा दुर्घटनामा परेको छ । बा २ झ ९२९९ नम्बरको सवाब बोकेको जिल्ला शिक्षा तथा समन्वय ईकाई ओखलढुङ्गाको गाडी दुर्घटनामा परि साईकल यात्रीलाई ठक्कर दिदा सिराहाको सिराहा नगरपालिका वडा नं. १२ को ३६ वर्षिय विनोद चौधरीको मृत्यु भएको छ ।

गत बुधबार ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकाका ४ प्रहरी र १ स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरि स्वाब संकलन गरिएका ४० जना र जिल्लाका अन्य विभिन्न स्थानमा रहेकाहरुको समेत गरि ५१ जनाको स्वाबलाई लिएर उक्त गाडी विराटनगर तर्फ जादै थियो । विराटनगर तर्फ जादै गर्दा गाडी शनिवार दिउसो करीब साढे १२ बजे तिर दुर्घटनामा परेको थियो ।

दुर्घटना पछि साईकल चालक घाईते चौधरीलाई सोहि गाडीमा राखेर धनगढीको आरके मेडासिटी अस्पतालमा पुर्याईएको थियो । तर उनको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको बताईएको छ ।

घटना पश्चात गाडी सहित गाडीका चालक दिपक घिमिरेलाई सिराहा प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी दुर्घटनामा परेपछि तत्काल एम्बुलेन्स झिकाएर गाडीमा रहेको स्वाबलाई सुरक्षित रुपमा शनिवार बेलुका नै विराटनगर पुर्याईएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । घटनाको बारेमा अनुसन्धान गरिरहेको सिराहा प्रहरीले  जनाएको छ ।