नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

बुधबार थपिए कोरोनाका १ हजार ३ सय ५९ संक्रमित

ओखलढुङ्गान्युज, भदौ १९, २०७७ काठमाण्डौं शुक्रबार पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाईरस संक्रमणको दर उच्च बनेको छ । शुक्रबार नै पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा शुक्रबार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

संक्रमित भएकाहरु मध्ये २ सय ७१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै शुक्रबारसम्म २५ हजार ५ सय ६१ जना निको भई कोरोना मुक्त भएका छन् । शुक्रबार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र ४ सय ५४ जना संक्रमित थपिएका छन् । त्यस्तै ओखलढुङ्गामा पनि शुक्रबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएका २ जना ओखलढुङ्गाबाट नै स्वाब संकल गरेर पठाईएका व्यक्ति नभई कामको शिलशिलामा जिल्ला बाहिर रहेका ओखलढुङ्गा स्थायी ठेगाना भएका व्यक्तिहरु भएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।