नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

चाडपर्वको नाममा भिडभाड गरे प्रशासनले कार्बाही गर्ने

ओखलढुङ्गान्युज, भदौ , २०७७ ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले कोरोना संक्रमणलाई लक्षित गर्दै सामूहिक रुपमा भेला भएर चाडवाड नमनाउन आग्रह गरेको छ । हिन्दु नारीहरुले मनाउदै गरेको आउदो तिजलाई लक्षित गर्दै जिल्ला प्रशासनले सामूहिक भेला नहुन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेको हो ।

गत आईतबार बसेको डीसीएमसी र जिल्ला कमाण्ड पोष्टको संयुक्त बैठकले पछिल्लो समयमा ओखलढुङ्गाका विभिन्न स्थानहरुमा अनावश्यक भिडभाड तथा सभा सम्मेलन हुन लागेको, नागरिकहरुले मास्कको प्रयोग नगरेको भन्ने गुनासो आएपछि यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । चाडबाड र भिडभाडलाई लक्षित गरि जिल्लाका विभिन्न स्थानमा सञ्चालन भैरहेको हाट बजार सञ्चालनमा समेत कडाई गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार संयुक्त बैठकले गरेको उक्त निर्णयलाई सबै स्थानीय तहमा समेत परिपत्र गरिएको छ । सामुहिक रुपमा भेला भई भिडभाड गर्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भएकोले जोखिमलाई कम गर्न यस्तो निर्णय गरिएको हो । नेपालीहरुको आफ्नो आफ्नो संस्कृती तथा परम्परा अनुसार मनाईने चाडवाड आफ्नो परिवारसँग मात्रै घरभित्रै बसेर मनाउन पनि प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई आग्रह गर्नु भएको छ ।

तिजको दिन हुनसक्ने अनियमित भिडभाडलाई कम गर्नका लागि जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटहरुलाई समेत जानकारी गराईसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । तिजलाई लक्षित गरेर जिल्लाभित्र सञ्चालन हुने सवारी साधनको आवागमनलाई समेत कडा गरिएको छ । संयुक्त बैठकको उक्त अनुरोधलाई अटेर गर्ने जोकोहीलाई प्रशासनले कडा कार्बाही गर्ने पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 

संयुक्त बैठकको निर्णय