नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

दोस्रो सामुदायीक वन दिवसमा वृक्षारोपण

ओखलढुङ्गान्युज, साउन २५, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा दोस्रो सामुदायीक वन दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ९ मा रहेको ज्यामिरे सामुदायीक वनको प्रतिक्षालय आसपासका क्षेत्रमा वृक्षारोपण गरि मनाइएको हो ।

प्रतिक्षालय आसपासका क्षेत्रहरूमा दुई दर्जन बढी विभिन्न प्रजातिका रुखको विरुवा रोपिएको ज्यामिरे सामुदायीक वनका अध्यक्ष तेज नारायण श्रेष्ठले जानकारी दिनुभयो । विक्रम संवत २०७६ देखि मनाउन थालिएको सामुदायीक वन दिवस प्रत्येक वर्षको साउन २५ गते मनाउने गरिन्छ । कोरोना भाइरस संक्रमणको त्रासका बिच अनौपचारिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

वृक्षारोपण कार्यक्रम पश्चात आयोजित कोण सभामा सहभागी वक्ताहरुले सामुदायीक वनको स्थापना, आवश्यकता र फाइदाका बारेमा चर्चा गरेका थिए । यस वर्षको सामुदायीक वन दिवसको नारा ‘समृद्धीका लागि सामुदायीक वन, उत्पादन उत्पादकत्व बृद्धिमा योगदान’ रहेको थियो ।

कार्यक्रम सामुदायीक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ ओखलढुङ्गाको आयोजना तथा वन डिभिजन कार्यालय ओखलढुङ्गाको सहयोगमा सम्पन्न भएको हो ।वृक्षारोपण कार्यक्रममा करिब दुई दर्जनले सहभागिता जनाएका थिए ।