नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

ओखलढुङ्गामा मास्क नलगाई हिड्नेलाई प्रशासनले कार्बाही गर्ने

ओखलढुङ्गान्युज, साउन २४, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा मास्क नलगाई हिड्नेहरुलाई प्रशासनले कडाई गर्न थालेको छ । पछिल्लो समयमा कोरोना संक्रमणको दर वढ्दै गएको अवस्थामा घर बाहिर निस्कने जिम्मेवार व्यक्ति तथा नागरिक मास्क नलगाई हिडडुल गर्दा कोरोना संक्रमणको जोखिम रहेको भन्दै मास्कको प्रयोगमा कडाई गरिएको हो ।

शनिवार लाग्ने ओखलढुङ्गाको हटियामा आउने व्यापारी तथा ग्राहक सबैलाई प्रशासनले मास्क लगाउन अनिवार्य गरेको थियो । सदरमुकाम क्षेत्रमा प्रवेश गर्ने हरेक नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै टिमले व्यापारी तथा ग्राहक सबैलाई मास्क लगाउन लगाएको थियो ।

शनिवार विहानै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको नेतृत्वमा बजारको अनुगमन समेत गरिएको थियो । अनुगमन सँगसगै प्रहरीको टिम परिचालन गरि हरेक नागरिकलाई मास्क प्रयोगमा अनिवार्य गराईएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिम्मेवार व्यक्ति र व्यापारीहरुले समेत मास्क नलगाई आवतजावत र व्यापार गरिरहेको भन्ने गुनासो आएपछि अनुगमन गरि मास्क प्रयोगमा कडाई गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

किन्न सक्ने मानिसहरुलाई नजिकैको पसलमा गएर मास्क किनेर लगाउन लगाएको र किन्न नसक्नेहरुलाई प्रशासनको तर्फवाट नै मास्क निशुल्क उपलब्ध गराईएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । आईतवार देखी मास्क नलगाई हिड्नेहरुलाई थप कडाई गर्ने र अटेर गरेमा कानुन अनुसार कार्बाही गर्ने समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

साउनको दोश्रो हप्ता सम्म केही न्युन देखिएको कोरोना संक्रमण दर साउनको तेश्रो हप्तामा आईपुग्दा ह्वात्तै बढेको छ । कोरोनाबाट बच्नका लागि नागरिकहरु आफै सतर्क बन्नु पर्ने भन्दै पहिलो चरणमा शनिवार बजार क्षेत्रमा प्रहरी परिचालन गरि अनिवार्य मास्क लगाउन, धेरै भिडभाड नगर्नका लागि सूचना प्रसार समेत गरिएको थियो । कोरोनावाट बच्ने उपायहरुलाई अबलम्बन गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सबै नागरिकहरुलाई अनुरोध समेत गरेको छ ।