नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लिखु  गाउँपालिका अध्यक्षलाई हातपात गर्ने १३ जना पक्राउ

विवेश श्रेष्ठ, असार ३१, २०७७ ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको कार्यालयमा तोडफोड गर्दै गाउँपालिका अध्यक्षलाई कार्यकक्षमा हातपात गर्ने १३ जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको छ । किटानी जाहेरीको आधारमा घटनामा संलग्न २ महिला सहित १३ जनालाई प्रहरीले घरमा नै पुगेर मंगलवार पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई मंगलवार नै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएर हिरासतमा राखिएको छ । हिरासतमा राखिएकाहरुलाई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई अभद्र ब्यबहार सम्बन्धिको कसुरमा मुद्दा चलाईने प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष माथि हातपात गर्ने र कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ पर्नेहरु सबै यसमकै रहेका छन् । पक्राउ पर्नेहरुमा दिपक कार्की, दिपक थापा, लक्ष्मण कार्की, अरुण कार्की, पारस खड्का, विश्वास खत्री, हरिचन्द्र कार्की, विशाल थापा, दिपेन्द्र खड्का, दिपकराज खड्का, राजु कार्की रहेका छन् । त्यस्तै आरोपमा पक्राउ पर्ने दुई महिलाहरुमा भारती मगर खत्री र निर्मला थापा रहेका छन् । पक्राउ परेकाहरुलाई हिरासतमा नै राखेर थप अनुसन्धानका लागि बुधबार म्याद थपको तयारी गरिएको छ ।

गत असार ११ गते लिखु गाउँपालिकाको एम्बुलेन्स दुर्घटनाको विषयलाई लिएर लिखु ४ यसमका केही उत्छृङखल व्यक्तिहरुले असार ११ गते गाउँपालिका अध्यक्ष गोविन्द वहादुर पौडेललाई हातपात गरेका थिए । गाउँपालिका अध्यक्ष पौडेलसगै गाउँपालिकाको वर्षे अधिबेशनका लागि उपस्थित भएका गाउँपालिकाका अन्य जनप्रतिनिधीहरुलाई समेत उनीहरुले हातपात गरेका थिए । जनप्रतिनिधीहरुलाई हातपात गरेसँगै लिखु गाउँपालिकाको कार्यालयमा तोडफोड गरि क्षति पुर्याएको थियो ।