नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

गाउँ सिलमा परेका परिवारलाई गाउँपालिकाको खाद्यान्न सहयोग

ओखलढुङ्गान्युज, असार ३०, २०७७ । यसम । कोरोना संक्रमण फैलन नदिन लिखु गाउँपालिकाको वडा नं. २ मा सिल गरिएको छ । वडालाई सिल गर्दा प्रत्यक्ष प्रभावमा परेका वडा नं. २ का २० घर परिवारलाई लिखु गाउँपालिकाले राहत सामाग्री उपलब्ध गराएको छ ।

लिखु गाउपालिकाको वडा नं. २ का फोक्सोका क्यान्सर पिडित ७२ वर्षिया पुरुषमा कोरोना संक्रमण भएको असार २६ गते पुष्टि भएसगै असार २७ गते वाट उक्त वडालाई सिल गरिएको छ । वडा नं. २ को पनि कोरोना सक्रमित पुरुषको घर रहेको टोललाई विशेष कडाई गरिएको छ । वडाको उक्त टोलमा आवतजावत गर्न अहिले प्रतिबन्ध लगाईएको छ ।

वडावाट बाहिर जान आउन प्रतिबन्ध गरिएपछि प्रभावित घरपरिवारलाई खाद्यान्नको समस्या हुन सक्ने भन्दै एक महिनालाई पुग्ने बराबरको खाद्यान्न सामाग्री उपलब्ध गराईएको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलका अनुसार वडा सिल गर्दा प्रभावित बनेका २० घरधुरीलाई प्रति घरधुरी ३० केजीका दरले चामल उपलब्ध गराईएको छ । चामल सगै प्रति परिवार ३ केजी दाल, २ लिटर तेल, ४ डल्ला साबुन, २ केजी चिनी र २ केजी नुन उपलब्ध गराईएको पनि अध्यक्ष पौडेलले बताउनुभयो ।

वडालाई सिल गरेसगै उक्त वडाका १७ घरधुरीका १ सय ३ जनाको बुधबार कोरोना परीक्षणका लागि स्वाव संकलन गरिनेछ । स्वाब संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्य प्राबिधिकको टिम पठाईदै गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । कोरोना संक्रमित पुरुषको हाल घरमा नै राखेर उपचार भैरहेको छ ।

संक्रमित पुरुषको अहिले अबस्था सामान्य रहेको वडा नं. २ का वडा अध्यक्ष रामहरि बुढाथोकीले जानकारी दिनुभयो । वडा अध्यक्ष बुढाथोकीका अनुसार सिल गरेको वडालाई लिखु गाउँपालिकाको नगरप्रहरी र जनपद प्रहरीको टीमले सुरक्षा दिईरहेको छ । कोरोना भाईरस संक्रमितसँगको प्रत्यक्ष सम्पर्कवाट सर्ने भएकोले त्यसवाट सुरक्षित रहनका लागि वडाको तर्फवाट मनोसामाजिक परामर्श समेत सञ्चालन गरिरहेको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।