नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

लिखुका कोरोना संक्रमितलाई सदरमुकाम ल्याईदै

ओखलढुङ्गान्युज, असार २३, २०७७ ओखलढुङ्गा लिखुका कोरोना संक्रमितलाई ओखलढुङ्गा सामुदायीक अस्पतालको आईसोलेसनमा राखिने भएको छ । मंगलबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले लिखुका कोरोना संक्रमित पुरुषहरुलाई ओखलढुङ्गा सदरमुकाम ल्याएर ओखलढुङ्गा सामुदायीक अस्पताल सोब्रुको आईसोलेसनमा राख्ने निर्णय गरेको हो । कमाण्ड पोष्टको निर्णयसगै कोरोना संक्रमण भएका तिनैजना पुरुषलाई ओखलढुङ्गा सदरमुकाम ल्याउने तयारी थालिएको छ ।

संक्रमित पुरुषहरुलाई ओखलढुङ्गासम्म ल्याईपुर्याउनका लागि लिखुमा छुट्टै गाडीको व्यबस्था नभएपछि गाडीको व्यबस्थापन गर्दै गरेको लिखु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले जानकारी दिनुभयो । यस अगाडी असार ७ गते कोरोना संक्रमणको पुष्टि भएका लिखुकै एक पुरुषलाई भने गाउँपालिकाको एम्बुलेन्स मार्फत मोरङमा पठाईएको थियो । गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परि क्षतिग्रस्त भएपछि संक्रमित युवालाई लिखुवाट ओखलढुङ्गासम्म पठाउन समेत समस्या भएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताउनुभयो ।

कोरोना संक्रमणको पुष्टि भएका तिनैजना पुरुषहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएकोले उनीहरुलाई सदरमुकाममा नै रहेको अस्पतालको आईसोलेसनमा राखी उपचार गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । संक्रमित युवाहरुलाई अब कम्तीमा १४ दिन अस्पतालको आईसोलेसन कक्षमा राखिने छ ।

आईसोलेसन कक्षमा राखिने संक्रमित पुरुष र उनीहरुलाई राखिएको स्थानको सुरक्षाको जिम्मा ओखलढुङ्गामा रहेको नेपाली सेनाको अरिदमन गणलाई दिने समेत आज बसेको कमाण्ड पोष्टको बैठकले निर्णय गरेको छ । संक्रमित पुरुषलाई राखिएको यसमको क्वारेन्टाईनको सम्पर्कमा आएका अरु व्यक्तिको समेत पहिचान गरि उनीहरुको समेत पिसिआर परीक्षणको व्यबस्था मिलाउने निर्णय बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।