नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि आक्रमण, गाउँपालिका कार्यालयमा तोडफोड

ओखलढुङ्गान्युज, असार १४, २०७७ यसम लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि आक्रमण भएको छ । केही उत्तेजित युवाहरुको समूहले विहिबार दिउसो कार्यालयमा नै आक्रमण गर्दा गाउँपालिकाका अध्यक्ष पौडेललाई सामान्य चोट लागेको छ । युवाको आक्रमणमा परेका गाउँपालिकाका अध्यक्ष पौडेलको चस्मा फुटेको छ भने उहाँले लगाउनुभएको कपडा समेत च्यातिएको एक प्रत्यक्षदर्शीले बताए । 

विहिबार दिउसो ११ बजेतिर हातमा रड र लाठि बोकेर गाउँपालिकाको कार्यालय यसममा प्रबेश गरेका समुहले गाउँपालिकाको कार्यालयमा तोडफोड समेत गरेको छ । तोडफोडका क्रममा पालिका कार्यालयको केही झ्यालको सिसाहरु फुटेको छ भने कार्यालयका कुर्सीहरु समेत तोडफोड भएका छन् ।

संघिय सरकार मार्फत लिखु गाउँपालिकाका लागि प्राप्त भएको १५ सैयाको अस्पताल गाउँपालिका मुकाम यसममा नै बनाउने कि गाम्नाङ्गटारमा बनाउने भन्ने बारेमा पछिल्लो केहिदिन देखि लिखुमा विवाद बढेको छ । त्यस्तै विहिबार गाउँपालिकाको कार्यालय हुदै विरामी लिन पोकली जादै गरेको पालिकाको एम्बुलेस दुर्घटना भै चालकको मृत्यु भएपछि केही युवाहरु आक्रोसित र उत्तेजित भै गाउँपालिकाको कार्यालय र अध्यक्ष माथि नै हमला गरेको बताईएको छ । तर गाउँपालिकाका अध्यक्ष माथि भएको कुटपिट र कार्यालय तोडफोडको बास्तविक कारण भने खुलेको छैन । 

आक्रमणको बारेमा हाल सम्म लिखु गाउँपालिकाले कुनै प्रतिक्रिया जनाएको छैन । गाउँपालिकाको कार्यालयमा नै आएर अध्यक्ष माथि नै हातपात भएपछि आफुहरु त्रसित भएको पालिकाका कर्मचारीहरुले बताएका छन् । पालिका कार्यालय तोडफोड गर्ने र अध्यक्ष पौडेलमाथि हातपात गर्नेको पहिचान भैसकेको बताईए पनि उनीहरुलाई हालसम्म पक्राउ तथा अन्य कुनै कार्बाहीको प्रकृया समेत थालिनी गरिएको छैन ।

विहिबार भएको घटनाको बारेमा शनिवार सत्तारुढ दल नेकपाको लिखु गाउँपालिका कमिटिले एक विज्ञप्ती प्रकाशन गरि घटनाको भत्र्सना गरेको छ । साथै गाउँपालिकाका अध्यक्ष तथा अन्य जनप्रतिनिधीहरुलाई अराजक शैलीमा कुटपिट तथा लछारपछार गरेको भन्दै दोषि उपर कार्बाहीको माग गरेको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले भने यो समाचार तयार पार्दा सम्म केही बोलेको छैन ।

करीब दुई वर्ष अगाडी पनि राती सुतेकै स्थानमा गई केही अज्ञात समूहले पालिका अध्यक्ष पौडेललाई आक्रमण गरेको थियो । आक्रमणकारीहरुको बारेमा हाल सम्म पनि प्रहरीले कुनै सुईको पाएको छैन ।

नेकपा लिखु गाउँपालिका कमिटिले जारी गरेको विज्ञप्ती