नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै

ओखलढुङ्गान्युज, असार ७, २०७७  । काठमाण्डौं । आज नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । खण्डग्रास सुर्यग्रहणलाई नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने र अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिनुभयो  ।

खगोलविद् आचार्यका अनुसार मध्यान्ह १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिनेछ । यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् आचार्यले जानकारी दिनुभयो ।

यस्तो सूर्यग्रहण नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने खगोलविद्हरुले बताएका छन् । धर्मशास्त्रमा विश्वास गर्नेहरुका लागि भने यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुने बताईएको छ । तथापि वैज्ञानिकहरू भने सूर्यग्रहण जो कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्यता राख्छन् ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन । तर सूर्यग्रहण नाङ्गो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनुपर्ने खगोलविद्हरू बताउँछन् ।

यस अगाडी २०७६ पुष ११ गतेपनि खण्डग्रास सूर्यग्रहण लागेको थियो । त्यसवेला लागेको सूर्यग्रहणमा नेपालबाट सूर्यको ३८ प्रतिशत भाग ढाकिएको देखिएको थियो ।