नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सिद्धिचरण नगरपालिकामा क्वारेन्टाइन कक्ष विस्तार गरिदै

ओखलढुङ्गान्युज, जेठ २४, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा सिद्धिचरण नगरपालिकाले क्वारेन्टाइन स्थल विस्तार गर्ने भएको छ । विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको ओखलढुङ्गामा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरपालिका भित्र थप क्वारेन्टाइन विस्तार गर्न लागिएको सिद्धिचरण नगरपालिकाले जनाएको छ ।

सिद्धिचरण नगरपालिकाको वडा नं ४ रुम्जाटारमा रहेको रुम्जाटार माध्यमिक विद्यालयको नवनिर्मीत भवनमा थप ५० बेडको क्वारेन्टाइन विस्तार गर्ने तयारी थालिएको छ । छिमेकी मुलुक भारत लगायत कोरोना संक्रमित राष्ट्रहरुवाट नगरपालिका भित्रनेहरुलाई लक्षित गरि क्वारेन्टिन कक्षको विस्तार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नवनिर्मित विद्यालय भवनमा पानी र शौचालयको समेत राम्रो व्यवस्था भएको भन्दै क्वारेन्टाइन स्थल महिला, बालबालिका र अपागंता भएका वर्गका लागि विशेष सहज हुने गरि बनाइने नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो । नव निर्मित विद्यालय भवनको भौतिक संरचना समेत राम्रो भएकोले क्वारेन्टाईन पनि सबै वर्गलाई सहज हुने खालको हुने नगरप्रमुख श्रेष्ठको भनाई छ । क्वारेन्टाइन स्थलको सुरक्षार्थको लागि भने नेपाली सेनालाई अनुरोध गर्ने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ निर्माण हुने क्वारेन्टाइनका लागि आवश्यक पर्ने खाद्यान्नको व्यवस्थापन सिद्धिचरण नगरपालिकाले गर्ने बताइएको छ । त्यस्तै क्वारेन्टाइन स्थलमा आवश्यक पर्ने लत्ता कपडा लगायतका स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन भने जिल्ला विपद व्यवस्थापन समिति मार्फत जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने भएको छ । यस अगाडी नगरपालिकाको वडा नं. १२ मा रहेको ओखलढुंगा क्याम्पस भवनमा मात्रै क्वारेन्टिन कक्ष रहेको थियो ।