नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

हालसम्म ओखलढुङ्गामा कोही कोरोना संक्रमित भेटिएको छैन ः जिल्ला कमाण्ड पोष्ट

मृतक सहित आठै जनाको पिसिआर रिपोर्ट नेगेटिभ

ओखलढुङ्गान्युज, जेठ , २०७७ ओखलढुङ्गा ओखलढुङ्गावाट पिसिआर परीक्षणका लागि काठमाण्डौं पठाईएका आठै जनाको रिपोर्ट नेगेटिभ आएको छ । शोमबार ओखलढुङ्गामा उपचारका लागि ल्याईदै गरेका सिन्धुलीको फिक्कल गाउँपालिकाका एक पुरुषको मृत्यु भएपछि उनी सहित ओखलढुङ्गाका अन्य सात जनाको पनि पिसिआर परीक्षणका लागि स्वाव काठमाण्डौं पठाईएको थियो ।

पिसिआर परीक्षणको रिपोर्ट बुधबार आएको र सबैको रिपोर्ट नेगेटिभ नै आएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो । गत शोमबार उदयपुरको घुर्मीवाट ओखलढुङ्गाको सामुदायीक अस्पतालमा उपचारका लागि ल्याईदै गरेका सिन्धुलीको फिक्कल गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो । 

यसैबिच विहिबार एक राष्ट्रिय दैनिक पत्रिकामा छापिएको समाचार सत्य नभएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । विहिबार प्रकाशित भएको उक्त समाचारमा कोरोना देशका ३७ जिल्लामा फैलिएको र ओखलढुङ्गा जिल्लामा समेत कोरोना संक्रमित भेटिएको उल्लेख छ । विहिबार नै जिल्लाको खिजिदेम्बा गाउँपालिकामा १० जनामा गरिएको आरडिटी परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने ती मध्ये दुईजनाको भने पिसिआर परीक्षणका लागि स्वाब काठमाण्डौं पठाईदैछ ।

समाचारको प्रकाशन भएको विषयले अचम्मित बनाएको र हाल सम्म ओखलढुङ्गामा कुनै पनि कोरोना भाईरस संक्रमित नदेखिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी गणेश अचार्यले जानकारी दिनुभयो । विपदको वेला भ्रामक समाचार प्रकाशन प्रशारण नगरि बास्तविकता बुझेर मात्रै सूचना दिन र सचेत रहन प्रमुख जिल्ला अधिकारी आचार्यले सबैलाई आग्रह गर्नुभयो ।

हालसम्म ओखलढुङ्गाका २ सय ७७ जनाको आरडिटी परीक्षण गरिएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन तिवारीले जानकारी दिनुभयो । त्यस्तैगरि हाल सम्म ओखलढुङ्गाका २० जनाको पिसिआर परीक्षण गरिएको छ । ति सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको र खिजिदेम्बा गाउँपालिकाबाट पठाईएको दुईजनाको पिसिआर परीक्षण रिपोर्ट भने आउन बाकी रहेको पनि तिवारीले बताउनुभयो ।