नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

खोटाङका एक युवाको पीसीआर रिपोर्ट पोजेटिभ, संक्रमित संख्या ३७५

ओखलढुङ्गान्युज, जेठ ५, २०७७ । खोटाङ । खोटाङका एक युवाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ महादेवस्थान स्थायी घर भएका एक युवाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ सय ७५ पुगेको छ ।

कोरोना भाइरस संक्रमणको परीक्षणकालागि जेठ २ गते नगरपालिकाले ३३ जनाको स्वाब विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । नगरपालिकाले पठाएको ३३ जनाको स्वाब मध्ये २० वर्षीय युवाको पीसीआर रिपोर्ट भने पोजेटिभ देखिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभयो ।

खोटाङमा कोरोना पोजेटिभ देखिएको रिपोर्ट सार्वजनिक भएपछि खोटाङ लगायत ओखलढुङ्गामा पनि त्रास फैलिएको छ । लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बैशाख १२ गते बसमार्फत गाउँ आएका थिए । गाउँ आएपछि उनी होम क्वारेन्टिनमा बसेको नगरपालिकाले जनाएको छ ।

पिसिआर रिपोर्ट नेगेटिभ देखिएपछि हलेसी तुवाचुङ नगरपालिकाले ती युवाको घर सिल गरेको छ । घरसिल गर्नका लागि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधि पठाइएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताउनुभयो । युवाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि शोमबार साँझ नगरपालिकाको आकस्मिक बैठक बसेको छ ।

नगरपालिकाको आकस्मिक बैठकले नगरपालिका प्रवेश गर्ने सबै नाका बन्द गर्ने, संक्रमित युवाको पुन: पिसिआर टेष्ट गर्ने र उपचारमा पठाउने, उनका परिवारको पनि पिसिआर टेष्ट गर्ने, नगरपालिकाको सरकारी कार्यालय तथा बैंकिङ कारोबार बन्द गर्ने लगायतका निर्णय गरिएको उपमेयर राईले जानकारी दिनुभयो ।