नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

विपद व्यबस्थापन समिति विपदमा काम लाग्यो

ओखलढुङ्गान्युज, बैशाख २९, २०७७ । ओखलढुङ्गा । विपदवाट हुने समस्यालाई समाधान गर्न नेपाल सरकारले स्थानिय सरकारको वडा÷वडा सम्म विपद व्यबस्थापन समिति निर्माणका लागि निर्देशन दिएको छ । विपदवाट हुने क्षतिलाई न्युनिकरण गर्न तथा विपदका समयमा उद्धार तथा आवश्यक राहत प्रदान गर्नका लागी विपद व्यवस्थापन ऐन तथा कार्यबिधी वनाएर काम गर्न निर्देशन दिएको हो ।

जिल्लामा कतिपय गाउँपालिका तथा नगरपालिकाहरुले विपद व्यवस्थापन ऐन वनाएर काम गरि रहेका छन । तर ऐनको पुर्ण रुपमा कार्यान्वयन भने अझै सम्म भएको छैन । ऐन वनाएर त्यसको अभिमुखिकरण गरिएमा प्रभावकारी कार्यन्वयन गर्न सजिलो हुने गर्दछ । यस्तै भएको छ मोलुङ्ग गाउँपालिकाको १ नं वडामा ।

नेपाल सरकारले जारी गरेको स्थानिय सरकार संचालन ऐनमा समेत विपद व्यवस्थापन सम्वन्धी कुराहरु उल्लेख गरिएको छ । स्थानीय तहहले विपद् व्यबस्थापन ऐन तथा कार्यबिधीको निर्माण गरि कार्यान्वयनमा ल्याउनुपर्ने कुरा उल्लेख गरेको छ । कतिपय स्थानीय तहहरुले यसको वेवास्ता गर्दा केही समस्यामा समेत परेको देखिन्छ ।

विपद व्यवस्थापन समिति गठन गरे पश्चात उसले के के काम गर्ने ? कसरी गर्ने ? को–को रहने भन्ने जानकारी नभएका कारण कतिपय स्थानीय तहका वडाहरुमा विपद व्यवस्थापन समिति नै गठन हुन सकेको छैन । जिल्लाको मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा पनि त्यस्तै भएको थियो । वडा अध्यक्ष प्रदिप कुमार बानिया भन्नुहुन्छ, ‘पालिकाले पहल गरेन, हामीलाई थाहा भएन ।’

अन्यौलता कायम नै रह्यो । ट्रान्सपरेन्सी ईन्टरनेशनल (टिआई) नेपाल ओखलढुङ्गाका जिल्ला संयोजक भोलामान विकले पनि कुन्तादेवीमा विपद् व्यबस्थापन समिति निर्माणका लागि लामै पहल थाल्नुभयो । तथापी समिति गठन पश्चात त्यसको काम, कर्तव्य र जिम्मेवारीको बारेमा दुवैजनाबिच प्रष्ट हुन सकेन । समिति गठन लगायतका कामहरु अगाडी बढ्न सकेन ।

विपद व्यबस्थापन समिति निर्माण नभई रहेको अवस्थामा कतैवाट विपद व्यबस्थापन समिति निर्माणको बारेमा कसैले प्रश्न गरेमा के उत्तर दिने भन्ने अन्यौलता वडामा समेत रह्यो । वडामा विपद व्यबस्थापन समिति गठन गर्ने र त्यसको बारेमा अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने निष्कर्षका साथ अध्यक्ष वानियाले ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका जिल्ला कार्यक्रम संयोजकसग सम्पर्क गरि छलफल थाल्नुभयो ।

छलफलका पश्चात मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवीमा विपद व्यवस्थापन सम्वन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निस्कियो । छलफलका क्रममा अभिमुखीकरण कार्यक्रमका लागि जिल्लामा विपद् व्यबस्थापन कार्यक्रम सग सम्बिन्धत व्यक्तित्वहरुलाई अनुरोध गर्ने निर्णय भयो । सोही निर्णय बमोजिम अभिमुखीकरणको सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई टिआई नेपालको तर्फवाट अनुरोध गरिएकोमा उहाँले आफू सहभागी हुने बताउनुभएको थियो ।

कार्यक्रमको तयारीको साथ २०७६ साल मंशिर १८ गते अभिमुखीकरणको आयोजना गरियो । तर आफ्नो व्यबस्तताका कारण प्रमुख जिल्ला अधिकारी आचार्य सहभागी हुन सक्नुभएन । प्रमुख जिल्ला अधिकारी आचार्यको अनुरोध बमोजिम कार्यक्रमको सहजीकरणका लागि सशस्त्र प्रहरी वल सुरक्षा वेश ओखलढुङ्गाका तत्कालीन प्रहरी नायव उपरिक्षक, डिएसपी (हाल प्रहरी उपरिक्षक, एसपी) सुदिर सुवेदीलाई कार्यक्रमको सहजिकरण गर्न अनुरोध गरे संगै कार्यक्रममा गई सहजिकरण गर्नुभएको थियो ।

अभिमुखिकरण कार्यक्रममा प्रहरी उपरिक्षक सुवेदीले विपद भनेको के हो ? यसले कसरी सामान्य जनजिवनलाई असर गर्छ ? यो कसरी आउँछ ? हामीले यसलाई कसरी न्युनिकरण गर्न सक्छौ ? यदी तपाइ हामीले गर्न नसके वडा, नगरपालिका, जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश र केन्द्रले के के गर्न सक्छ ? यसको कानुनी प्रावधानहरु के के छन् ? लगायतका विषयमा जानकारी गराउनु भएको थियो भने विपद व्यवस्थापन समितिका वारेमा समेत जानकारी दिनुभयो ।

सहजीकरणको क्रममा प्रहरी उपरिक्षक सुवेदी जसमा केन्द्रमा, प्रदेशमा, जिल्लामा, स्थानिय तह र वडामा समेत यसको संरचनाको वारेमा जानकारी दिनुभएको थियो । अभिमुखीकरणमा समिति गठन पश्चात के सजिलो हुन्छ भन्ने वारेमा समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा टिआई नेपालको तर्फवाट मोलुङ्ग गाउँपालिकाले जारी गरेको विपद व्यवस्थापन ऐनको वारेमा जानकारी गराइएको थियो । जानकारी पश्चात जिल्लाका अन्य स्थानीय तहहरुले समेत विपद व्यबस्थापनका लागि के कति रकम व्यवस्था गरिएको छ भन्ने कुराको जानकारी गराइएको थियो ।

कार्यक्रमको प्रभाव स्वरुप मोलुङ गाउँपालिकाको वडा नं. १ मा वडा अध्यक्ष प्रदिप कुमार वानियाको अध्यक्षतामा १५ सदस्यिय वडा स्तरीय विपद व्यबस्थापन समितिको निर्माण भएको छ । वडा अध्यक्ष बानियाले मोलुङ गाउँपालिकाको वडाहरुमा समेत विपद व्यबस्थापन समिति निर्माण गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कोरोना भाईरस संक्रमणको महामारीमा यो समिती निकै प्रभावकारी रहेको वडा अध्यक्ष बानियाको भनाई छ ।  हाल मोलुङ गाउँपालिकाका अधिकांश वडामा यो विपद व्यबस्थापन समितिको निर्माण भएको छ ।