नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

एसईई दिनेका लागि ओखलढुङ्गामा तयारी कक्षा सुरु

ओखलढुङ्गान्युज, बैशाख २३, २०७७ ओखलढुङ्गा एसईई परीक्षा दिने विद्यार्थी भाइ बहिनीहरुका लागि लक्षित गरेर ओखलढुङ्गामा तयारी कक्षा सुरुवात भएको छ । जिल्लाको सामुदायीक रेडियो भिजन एफएम मार्फत मंलवारवाट दिउसोको समयमा तयारी कक्षाको सुरुवात भएको हो ।

कोरोना भाईरसको जोखिम न्यूनीकरणकालागि सरकारले लकडाउन गरेपछि  एसईई परीक्षा स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई लक्षित गरी एफएमले तयारी कक्षा कार्यक्रम प्रशारण गर्न थालेको हो । परीक्षाको तयारीमा रहेका तर लकडाउनको समयमा अलमलमा परेका विद्यार्थीहरुको पढ्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले तयारी कक्षाको सुरुवात गरेको एफएमका स्टेशन म्यानेजर रविन श्रेष्ठले बताउनुभयो । परीक्षा सुरुवात नहुँदा सम्म तयारी कक्षा निरन्तर सञ्चालन गरिने स्टेशन म्यानेजर श्रेष्ठको भनाई छ ।

एफएमले दैनिक रुपमा दिउसो ३ बजे देखी ५ बजेसम्म तयारी कक्षा सुरुवात गरेको छ । सरकारले नेपाल टेलिभिजन मार्फत एसईई तयारी कक्षा सुरु गरेपनि ग्रामिण भेगका विद्यार्थीको पहुँचमा ईन्टरनेट र टेलिभिजन नभएकाले रेडियो मार्फत तयारी कक्षा कार्यक्रम थालिएको एफएमका अध्यक्ष पूर्ण प्रसाद न्यौपानेले बताउनुभयो । टेलिभिजन र ईन्टरनेटको पहुँच नभएको ग्रामिण भेगका विद्यार्थीहरुलाई रेडियो मार्फत प्रभावकारी हुने ठहर गर्दै एसईई तयारी कक्षा विशेष कार्यक्रम थालेको अध्यक्ष न्यौपानेको भनाई छ । तयारी कक्षामा विशेषगरि अंग्रेजी, गणित र विज्ञान विषयको कक्षा सञ्चालन हुने न्यौपानेले बताउनुभयो ।

ओखलढुङ्गा र आसपासका क्षेत्रमा प्रशारण पहुँच भएको भिजन एफएमले यो कार्यक्रम उत्पादन तथा प्रशारणका लागि ओखलढुङ्गा, खोटाङ, उदयपुर र सिन्धुलीका विभिन्न स्थानीय तह, शिक्षा समन्वय ईकाई, समाजिक संघसंस्था तथा विद्यालयहरुसँग समेत सहकार्य गरेको जनाएको छ ।