नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सम्झौता अनुसारको नभएपछि चिशंखुगढीमा पुगेको चामल फिर्ता

ओखलढुंगान्युज, बैशाख २३, २०७७ । चिशंखुगढी । सम्झौता अनुसारको चामल ठेकेदारले उपलब्ध नगराएपछि गाउँपालिकामा आएको चामल चिशंखुगढी गाउँपालिकाले ठेकेदारलाई नै फिर्ता गरेको छ । कोरोना भाईरस संक्रमणको आशंकामा लकडाउन जारी रहेको र लकडाउन प्रभावितहरुलाई वितरण गर्नको लागि बोलपत्र मार्फत खरिद गरेको चामल सम्झौता अनुसार नभएपछि गाउँपालिकाले फिर्ता गरेको हो ।

चिशंखुगढी गाउँपालिकाले आफ्नो पालिकाका ८ ओटा ओडाका ७ सय ६७ परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । पालिकाका उक्त निर्णय बमोजिम तेश्रो पटक गत बैशाख १५ गते लकडाउन प्रभावित असंगठित क्षेत्रका नागरिकहरुलाई राहत उपलब्ध गराउनका लागि खाद्यान्न सामाग्री उपलब्ध गराउन उद्धेश्यले सामान आपूर्तिका लागि सूचना प्रकाशित गरेको थियो ।

सूचना अनुसार सामाग्री आपूर्तिका लागि मल्टिपल सर्भिस एण्ड सप्लायर्सले गाउँपलिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसारको सामाग्री गाउँपालिकाको सबै वडाहरुमा पुगेपछि मंगलवारबाट राहत सामाग्री वितरण गर्ने गाउँपालिकाले तयारी थालेको थियो । गाउँपालिकामा खाद्यान्न सामाग्री आईपुगेको जानकारी प्राप्तभएपछि गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी लगायत गाउँपलिकाको टिमले वडा नं. २, ३ र ६ मा गएर सामाग्रीको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा आपूर्तिकर्ताले सम्झौतामा उल्लेख गरे बमोजिम ब्राण्डको केही बोरा चामल सगै अर्को ब्राण्डको समेत चामल मिश्रण गरि वडावडामा पुर्याएको पाईएको चिशंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो । आपूर्तिकर्तासगँको सम्झौता अनुसार नै अन्य सामाग्री आएपनि चामल भने सम्झौता अनुसारको नपाईएपछि चामल फिर्ता गरिएको र सम्झौता अनुसारको नै चामल आपूर्तिका लागि ठेकेदारलाई निर्देशन दिईएको प्रमुख प्रशासकिय अधिकृत दर्जीले जानकारी दिनुभयो ।

‘सम्झौता अनुसारको राहत सामाग्रीको लागि सोना मनसुली चामल ल्याउने भनिएपनि अनुगमनका क्रममा कतिपय वडाहरुमा रामविलास चामल ल्याईएको पाईयो ।’ प्रमुख प्रशासकिय अधिकृत दर्जीले ‘सम्झौता अनुसारको चामल नभएपछि हामीले ठेकेदारलाई नै चामल फिर्ता गरेका हौं । राहत वाढ्न केही दिन ढिला होला तर खाद्यबस्तुको गुणस्तरमा सम्झौता गर्दैनौ ।’

राहत वितरणको काम केही दिनलाई रोकिए पनि एकदुई दिन भित्र नै सम्झौता अनुसारको चामल आपूर्तिका लागि आपूर्तिकर्तालाई निर्देशन दिईसकेकोले शुक्रबार/शनिवार तिरबाट गाउँपालिकाका वडाहरुमा राहत वितरण हुने पनि दर्जीले बताउनुभयो । संघर प्रदेश सरकारले जारी गरेको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड २०७६ अनुसार चिशंखुगढी गाउँपालिकामा पनि राहत वितरणका लागि परिवारको छनौट गरिएको थियो ।