नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

चम्पादेवीका लकडाउन प्रभावितलाई द्वन्द्व पिडित घिमिरे परिवारको राहत सहयोग

ओखलढुङ्गान्युज, बैशाख २२, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गाका एक द्वन्द्व पीडित परिवारले चम्पादेवी गाउँपालिकाका लकडाउन प्रभावित विपन्न समुदायलाई राहत वितरण गरेको छ । जिल्लाको चम्पादेवी गाउँ पालिका वडा नं. ६, घोराखोरीका पदम कुमारी घिमिरे र उहाँको छोरा रमेश घिमिरेले लकडाउन प्रभावित विपन्न परिवारलाई शनिबार राहत सामाग्री उपलब्ध गराउनु भएको हो ।

सशस्त्र द्वन्दको समयमा पति गुमाउनु भएकी पदमकुमारी र उहाँका छोरा रमेशले आफ्नो वडाका विपन्न १५ परिवारको लागि वडा कार्यालय मार्फत राहत सामग्री उपलब्ध गराउनु भएको वडा अध्यक्ष तिलक खड्काले जानकारी दिनुभयो । राहत बापत चामल, दाल, नुन, तेल लगाएतका खाद्य सामाग्री र हातधुने साबुन वितरण गर्नुभएको छ । चम्पादेवी गाउँ पालिकाको समन्वयमा राहत सामग्री वितरण गरिएको हो । कोरोना भाइरस संक्रमणको त्रासमा लकडाउनमा परि खाद्यान्न अभाव भएका घोराखोरी, भदौरे, जल्किनी, डढुवा र डाँडागाँउका गरेर १५ विपन्न घरपरिवारलाई खाद्य सामाग्री र सरसफाईका लागि हातधुने साबुन उपलब्ध गराइएको छ ।

कोरोनाको संकट सबै मिलेर सामना गर्नुपर्ने आवश्यकता देखिएकाले गाउँका विपन्नलाई सकेको सहयोग गरेको दाता रमेश घिमिरेले बताउनुभयो । वडा अध्यक्ष खड्काका अनुसार सहयोग सामाग्रीमा प्रति परिवार १ बोरा चामल, १ केजि दाल, १ प्याकेट खाने तेल, १ प्याकेट नुन र हातधुने साबुन एक एक वटा रहेको छ ।
जिल्लामा द्वन्द्व पीडित, श्रमिक, विपन्न र गरिबीको कारण देखाउँदै राहत माग्नेहरुको संख्या बढिरहेका बेला चम्पादेवीको घिमिरे परिवारले व्यक्तिगत लगानीमा विपन्नलाई राहत दिएर राम्रो काम गरेको चम्पादेवी गाउँ पालिकाका स्थानीय अगुवा पदम बरालले बताउनुभयो । विपदको समयमा हुने खाे परिवारले हुदा मात्रै खाने परिवारलाई सहयोग गरे विपदबाट हुने आपतलाई कम गर्न सकिने बरालको भनाइ छ ।