नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कोरोना रोकथाम प्रयासको जिल्ला समन्वय समितिले अनुगमन गर्ने

 ओखलढुङ्गान्युज, बैशाख २०, २०७७ ओखलढुङ्गा ओखलढुङ्गा जिल्लामा स्थानीय तहहरुले गरेको गतिबिधीहरुको बारेमा जिल्ला समन्वय समितिले अनुगमन गर्ने भएको छ । अन्तराष्ट्रिय महामारीको रुपमा लिएको कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहहरुले गरिरहेका गतिबिधीको बारेमा जिल्ला समन्वय समितिले अनुगमन गर्ने भएको हो ।

विहिबार र शुक्रबार बसेको जिल्ला समन्वय समितिको बैठकले जिल्ला समन्वयको नेतृत्वमा स्थानीय प्रशासन र  स्थानीय तहहरूसँग समन्वय गरी अनुगमन टोली बनाई अनुगमन गर्ने निर्णय गरेको जिसस सदस्य शुन्तला परियारले जानकारी दिनुभयो । प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कोरोनाको कार्ययोजना कार्यान्वयन गराउन पठाएको बजेट प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने निर्णय भएको छ ।

सदस्य परियारका अनुसार समितिको बैठकले खाद्यसंकट निम्तिन नदिन स्थानीय तहहरुसँग समन्वय गरी खाद्यान्नको व्यबस्थापनका लागि पूर्व तयारीमा रहन खाद्य संस्थान ओखलढुङ्गालाई निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै बैठकले देशमा लागू भैरहेको लकडाउनको समयमा जिल्ला बारिहवाट  जिल्ला भित्रिएकाहरुलाई प्रदेश सरकार सामाजिक विकास  मन्त्रालय विराटनगरद्वारा जारी निर्देशित एकान्तवास बस्दा पालना गर्नेपर्ने नियमहरु अनिवार्य पालना गराउन स्थानिय तहहरुलाई निर्देशन दिने र  एकान्तवास बस्दा पालना गर्नुपर्ने नियमहरु प्रभावकारी कार्यान्वयन गराउन अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

पछिल्लो समय ओखलढुङ्गामा स्थानीय सरकारहरुले कोरोना नियन्त्रण तथा रोकथामका लागि गरेको खर्च पारदर्शी नभएको तथा प्रदेश सरकारवाट आएको बजेटलाई समेत प्रभावकारी रुपमा सदुपयोग नगरेको नागरिकहरुले गुनासो गर्न थालेका छन् ।