नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आज विश्व श्रमिक दिवस, जोगियो लाखौं

ओखलढुङ्गान्युज, बैशाख १९, २०७७ ओखलढुङ्गा आज मे १ तारिख । अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस । अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा विगतका वर्षहरुमा विभिन्न कार्यक्रमहरुको नाममा लाखौं खर्च हुनेभएपनि यस वर्ष भने उक्त खर्च जोगिएको छ । कोरोना संक्रमण महामारीको त्रासका कारण सार्वजनिक भेला भएर गरिने कार्यक्रममा हुने खर्च यसपटक जोगिएको हो ।

सार्वजनिक स्थलमा मानिसहरु जम्मा भएर गरिने कार्यक्रम नभएपनि शीर्ष नेताहरुले सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका छन् । प्रधानमन्त्री केपी शर्मावली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा लगायतका नेताहरुले सामाजिक सञ्जाल मार्फत नै श्रमिक दिवसको शुभकामना दिनुभएको छ ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिदै निम्न वर्गीय श्रमजीविहरुका लागि विशेष राहतको प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु,’ अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा वलीले पनि अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा शुभकामना सन्देश जारी गर्दै कोह पनि श्रमिकलाई भोकै नराख्ने बताउनुभएको छ  । लकडाउनका कारण उद्योग व्यबसाय बन्द हुदा आम्दानी घटेर श्रमिकहरुको जिवन कष्टकर बनेकोमा आफु दुखित भएको समेत शुभकामना सन्देशमा बताउनुभएको छ । अहिले कोरोना भाइरसको महामारीका कारण विदेशमा काम गर्न सेकेको र स्वदेश फर्किन पनि समस्याको  चेपुवामा श्रमिकहरू रहेको भन्दै यसबाट सिर्जना भएको पीडाप्रति आफु जानकार तथा संवेदनशील समेत रहेको प्रधानमन्त्री वलीले बताउनुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान गर्दै लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।  लकडाउनका कारण श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।