नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गामा फौजी किराको प्रकोप बढ्यो

ओखलढुङ्गान्युज, बैशाख १७, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गाका कृषकहरुले लगाएको मकैमा फौजी किराको प्रकोप बढेको छ । मकैको विरुवामा फैजी किराको संक्रमण देखिएपछि कृषकहरु चिन्तित बनेका छन् । गतवर्ष जिल्लाका केही स्थानीय तहहरुमा मात्रै देखिएको प्रकोप अहिले जिल्लाका धेरै स्थानीय तहहरुसम्म फैलिएको छ ।

पछिल्लो समय ओखलढुङ्गा जिल्लाका मानेभञ्ज्याङ्ग, चम्पादेवी, सुनकोशी, चिशंखुगढी गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाको मकैबाली लगाईएको क्षेत्रमा फौजीकिराको प्रकोप बढेको पाईएको हो । हालसम्म ओखलढुङ्गाको लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिकामा भने हाल सम्म यासको प्रकोप देखिएको छैन । आफ्नो गाउँमा हालसम्म उक्त किराको प्रकोप रहेको नभएपनि छिमेकमा किराले मकैमा आक्रमण बढाउन थालेपछाडी लिखु गाउँपालिकाका किसानहरु समेत त्रसित भएका छन् ।

ओखलढुङ्गाका खेत तथा कालोमाटो भएको ठाँउमा मकै गोड्ने बेला भएको छ भने कतिपय कृषकहरुले मकै गोडेर पनि सकेका छन् । रातोमाटो भएको खेत तथा बारीहरुमा भने मकै छर्न थालिएको छ । गोडेको तथा गोड्ने बेला भएको मकैहरुमा किराले अत्याधिक मात्रामा आक्रमण गरि क्षति पुर्याएको कृषकहरुले बताएका छन् ।

फौजीकिराले मकैको विरुवा खान थालेको गुनासो कृषकहरुले गरेको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो। गोड्ने बेला भएको मकैबालीमा फौजी किरा देखिदा बाली सखाप पार्ने त्रास बढेपछि गाउँपालिकाको कृषि शाखा मार्फत अध्ययन थालिएको गाउँपालिका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

गत वर्ष पनि सुनकोसी गाउँपालिका, सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकाका केही क्षेत्रमा फौजी किराले हिँउदे मकै सखाप पारेको थियो । तर यसपाली फागुन, चैत महिनामा रोपिएको मकैमा समेत फौजी किराको असर देखिएको छ । जिल्लाका केही स्थानहरुमा भने भर्खरै मात्र मकै रोपिदै छ ।

मकैमा फौजी किराको प्रकोप देखिए पछि मानेभञ्ज्याङ्ग गाउँपालिकाले नियन्त्रणको तयारी थालेको जनाएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गा मार्फत विषादी झिकाएर फौजी किराको प्रकोपलाई नियन्त्रणको प्रयास भैरहेको मानेभञ्ज्याङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले बताउनुभयो ।

जिल्लाका अधिकांश स्थानीय तहहरुमा फैजी किराको प्रकोप रहेको जानकारी आएकोले प्रकोप नियन्त्रणका लागि विशेष तयारी थालिएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका प्रमुख विष्णुमणी पोखरेलले बताउनुभयो । किरा प्रकोप क्षेत्रको पहिचान गरी विषाधी र उपकरण सहित प्राविधक विशेषज्ञ टोली पठाईएको प्रमुख पोखरेलको भनाई छ । जिल्लाका अन्य स्थानहरुमा समेत किराको प्रकोप देखिएमा कृषि ज्ञान केन्द्र ओखलढुङ्गामा जानकारी दिन प्रमुख पोखरेलले आग्रह गर्नुभएको छ ।