नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

मोलुङका अध्यक्षले लाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

ओखलढुङ्गान्युज, बैशाख ९, २०७७ । प्राप्चा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाईदिएका छन् । मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको कार्यकक्षमा ताला लगाईदिएका हुन् । कोरोनाको विश्वव्यापी महामारीमा समेत प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले गाउँपालिकाको काममा असहयोग गरेको भन्दै अध्यक्ष राईले उनको  कार्यकक्षमा मंगलबार ताला लगाईदिएका हुन् ।

गाउँपालिका प्रमुखले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाईएको विषयमा गाउँपालिका अध्यक्ष मणिरज राईलाई सम्पर्क गर्दा आफुले ताला लगाईदिएको बताउनुभएको छ । विश्वमा कोरोना महामारीको आतंक फैलिरहेको समयमा स्थानीय सरकारले बढी भूमिका खेल्नुपर्ने समयमा पनि प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ गाउँपालिकाको सम्पर्क भन्दा बाहिर रहेका थिए ।  बिना जानकारी लामो समय कार्यालय नआएका प्रशासकीय अधिकृत श्रेष्ठ मंगलबार आएकाले उनलाई कार्यकक्षमा पस्न नदिई ताला लगाईदिएको अध्यक्ष राईले बताउनुभयो ।

 यस्तो महामारीको समयमा पनि लामो समय सम्पर्क बिहिन भएपछि प्रमुख प्रशासकिय अधिकृतको काज फिर्ताको लागि गाउँपालिकाले मन्त्रालयमा पत्र पठाईसकेको थियो । लामो समय कार्यालयमा अनुपस्थित रहनुका साथै गाउँपालिकाको काममा समेत असहयोग गरेको कारण काज फिर्ताको चिठी नै मन्त्रालयमा पठाईसकेको र उही कर्मचारीलाई फेरि कार्यालय आएपछि हाजिर गर्न नदिई कार्यकक्षमा ताला लगाईदिएको बताउनुभयो । अध्यक्ष राईले विगतमा काम सन्तोषजनक नभएको र काजफिर्ताको पत्र पठाईसकेपछि थप गैरजिम्मेवार काम हुनबाट बचाउन कार्यकक्षमा ताला लगाएको बताउनुभएको छ ।

मोलुङ गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर श्रेष्ठ आएको करीब एक महिना पश्चात नै गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत बिच विवाद सुरुवात भएको थियो । लामो समय कार्यकक्षमा उपस्थित नभएको र गाउँपालिकाको काममा समेत असहयोग गरेको भन्दै अधिकृत श्रेष्ठको काज फिर्ता गराएर अर्को अधिकृत पठाउन आग्रह गरेको छ । उक्त ब्यहोराका पत्र गाउँपालिकाले वैशाख ७ गते नै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाईसकेको छ ।

गाउँसभाले बजेट बिनियोजन गरेका शीर्षकमा पेश्कि दिन नमानेको, कार्यालय सञ्चालनका लागि समेत बजेट निकासा गर्न नमानेको, कोरोनाको संक्रमण रोक्न गाउँपालिकाले खर्च गर्नुपर्ने बजेट निकासा नगरेको, मौज्दात औषधी खरिदका लागि बजेट नदिएको लगायतका आरोप अधिकृत श्रेष्ठमाथि लागेको छ । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको विवादका कारण मोलुङमा गाउँसभाले विनियोजन गरेका अधिकांश योजनाहरुको बजेट निकासा भएको छैन ।

तालाबन्द गरिएको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठलाई ९८५२८४०५०१ मा सम्पर्क गर्दा फोन रिसिभ भएन । तालाबन्दिको बारेमा मंगलबार कुनै छलफल हुन सकेन । मोलुङ गाउँपालिकामा नयाँ क्वारेन्टाईन निर्माणको काम भैरहेकोले गर्दा बुधवार विहिबार छलफल गरेर मुद्दा टुङ्गो लगाईने गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ ।