नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

लकडाउन प्रभावित ६ सयलाई राहत वितरण गर्ने खिजिदेम्बाको निर्णय

ओखलढुङ्गान्युज, बैशाख , २०७७ खिजिफलाटे जिल्लाको खिजिदेम्बा गाउँपालिकाले लकडाउनका कारण प्रभावित भएका ६ सय परिवारलाई राहत वितरण गर्ने निर्णय गरेको छ । शोमबार खिजिदेम्बा गाउँपालिकामा बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका करीब ६ सय लकडाउन प्रभावित असंगठीत क्षेत्रका मजदुरहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा रहेका ज्याला मजदुरी गरेर जिविका चलाउने, दलित विपन्न परिवार तथा प्रदेश तथा संघ सरकारले तयार गरेको निर्देशिका बमोजिम पर्नेहरुलाई राहत वितरण गर्न लागिएको खिजिदेम्बा गाउँपालिकाका प्रमुख वेद बहादुर रोकाले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख रोकाका अनुसार मंगलवारवाट नै गाउँपालिकाले वितरण गर्ने राहतलाई प्रत्येक वडामा पुर्याईने र प्रत्येक वडाबाट नै राहत वितरण गरिने समेत जानकारी दिनुभयो ।

खिजिदेम्बा गाउँपालिकाले संघ तथा प्रदेश सरकारवाट राहत वितरण समबन्धि मापदण्ड पठाउनासाथ त्यस्ता असंगठित क्षेत्रका मजदुरहरुको तथ्यांक संकलन गरेको थियो । गाउँपालिकाका प्रत्येक वडावाट संकलन भएका तथ्यांकका आधारमा गाउँपालिकाले राहत वितरण गर्ने निर्णय गरेको हो । गाउँपालिकाको शोमबार बसेको बैठकको निर्णय अनुसार राहत प्याकेजमा २५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल र १ केजी नुनका दरले वितरण गरिने छ ।

शोमबारको कार्यपालिकाको बैठकमा जिल्ला बाहिर विभिन्न स्थानमा अलपत्र परेका नागरिकलाई कसरी गाउँ फर्काउने भन्ने विषयमा समेत छलफल भएको छ । पहिलो चरणमा जिल्ला बाहिर विभिन्न स्थानमा रहेका गाउँपालिकाका नागरिकहरुको अवस्था बुझेर आवश्यकताका आधारमा राहत वितरण गर्ने र गाउँपालिकामा नै फर्कनेहरुलाई जिल्ला कमाण्डपोष्ट सँग समन्वय गरेर गाउँपालिकामा ल्याउने निर्णय भएको गाउँपालिका प्रमुख रोकाले जानकारी दिनुभयो ।