नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

लिखु गाउँपालिकाले अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्ने

विएन श्रेष्ठ, बैशाख , २०७७ ओखलढुङ्गा कोरोना भाईरस संक्रमणको माहामारीलाई रोक्न  नेपालमा लकडाउन लम्बिदै गर्दा ओखलढुङ्गाको लिखु गाउँपालिकाले आफ्ना पालिकाका नागरिकहरुको उद्दार गर्ने भएको छ । लकडाउनको समयमा गाउँपालिका भन्दा बाहिर रहेका, घर आउन चाहेर बाटामा तथा उद्योग कलाकारखानामा अलपत्र परेका आफ्नो गाउँपालिकाका नागरिकहरुलाई लिखु गाउँपालिकाले उद्धार गर्ने भएको हो ।

पछिल्लो समय थप गरिएको लकडानका कारण जिल्ला बाहिरवाट ओखलढुङ्गामा भित्रीने नागरिकहरुको संख्यामा समेत बृद्धि भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानहरुमा नागरिकहरुले खान नपाएको, बाटोमा अलपत्र परेको समाचारहरु सञ्चार माध्यममा प्रकाशन प्रसारण हुन थालेका छन् । नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या बढ्दै जादा लकडाउनलाई सरकारले कडाई गरेको छ । लकडाउनको कडाईका बाबजुद पनि नागरिकहरु खाना नपाएर बाटाबाटामा नै अलपत्र भएको समाचारहरु सार्वजनिक भैरहेका छन् । लिखु गाउँपालिकाले भने त्यस्ता नागरिकहरुलाई पालिकाले उद्दार गर्ने बताएको हो ।

ओखलढुङ्गा जिल्ला भन्दा बाहिर विभिन्न स्थानमा रहेका लिखु गाउँपालिकाका कोही नागरिकहरुले खाना खान समस्या भयो भने तत्काल पालिकालाई खबर गर्न अनुरोध गरेको छ । ‘काठमाण्डौं वा ओखलढुङ्गा भन्दा बाहिर जिल्लामा रहेका कसैको चुलो बलेन भने पालिकालाई जानकारी दिनुहोस्, हामी चुलो बल्ने वातावरणका लागि समन्वय गर्नेछौं ।’ लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर पौडेलले भन्नुभयो, ‘पछिल्लो समय सरकारले लकडाउनलाई कडाई गरेको छ । यस्तो अवस्थामा जवरजस्ती तपाई घर आउने प्रयास नगर्नुस । यदी त्यसो गर्नुभयो भने तपाईहरु बिच बाटोमा अलपत्र पर्नुहुन्छ । यदी गाउँमा नै आउनुपर्ने छ भने कारण सहित टिम बनाएर सम्बन्धित वडाका वडा अध्यक्ष मार्फत खबर गर्नुस । सहजता पूर्वक गाउँमा आउनका लागि गाउँपालिकाले आवश्यक समन्वय गरि पासको व्यबस्था गर्नेछ ।’

अध्यक्ष पौडेलले विना कारण दुःख पाएर लकडाउनको अबधीमा गाउँमा सकभर नआउन पनि अनुरोध गर्नुभयो । काठमाण्डौंमा नै रहदा कसैको चुल्हो बलेन भने त्यसको व्यबस्था गाउँपालिकाले गर्ने तर समयमा नै जानकारी गराउन पनि अध्यक्ष पौडेलले अनुरोध गर्नुभएको छ । गाउँमा आउनका लागि यात्रा गर्दा पालिकाको समन्वय विना यात्रा नगर्न समेत अध्यक्ष पौडेलले लिखु गाउँपालिकाका सबै नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।