नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सात दर्जन सवारी ओखलढुङ्गा प्रहरीको नियन्त्रणमा

ओखलढुङ्गान्युज, बैशाख , २०७७ ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले करीब सात दर्जन अर्थात ८१ थान सवारी साधनलाई नियन्त्रणमा लिएको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयले समेत निरन्तरता दिईरहेको बेलामा लकडाउनको उल्लघंन गर्ने ती सवारी साधनलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीहरुले नियन्त्रणमा लिईएको सवारी साधनहरु मध्ये मोटर साईकल ५० ओटा, सुमो/बोलेरो/कार/जीप २४ ओटा, ट्याक्टर/टिफर/ट्रक ७ ओटा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिनुभयो । नियन्त्रणमा लिईएका अधिकांस सवारी सदरमुकाम क्षेत्रमा नै प्रयोग भैरहेका हुन् । कोरोना भाइरसको संभावित संक्रमण रोक्न सरकारले लिएको लकडाउनको  निर्णयलाई साथ दिँदै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जिल्लाका विभिन्न स्थानबाट सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सवारी साधनलाई लकडाउन सकिएपछि मात्रै फिर्ता गरिने प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो । लकडाउनको उल्लंघन गर्दै ग्रुपमा विभिन्न स्थानमा घुमफिर गर्नेहरुलाई समेत ओखलढुङ्गा प्रहरीले नियन्त्रणमा लिन थालेको छ । लकडाउन आफ्नै स्वास्थ्यका लागि भएकोले सरकारी निर्णयलाई उल्लघंन नगर्न समेत प्रहरीले अनुरोध गरेको छ ।