नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

डब्लुएचओलाई दिने गरेको आर्थिक सहयोग अमेरिकाले रोक्यो

ओखलढुङ्गान्युज, बैशाख ३, २०७७ । काठमाडौं । विश्व स्वास्थ्य संगठनले चीनको पक्षमा काम गरेको भन्दै आफुले गर्ने सहयोग अमेरिकाले रोक्ने निर्णय गरेको छ । विश्वमा कोरोनो महामारी मच्चाईरहेको बेला पनि विश्व स्वास्थ्य संगठनले चीनको पक्षमा काम गरेको र उसले गरेको अन्य कामहरु पनि सन्तोषजनक नभएको भन्दै विश्व स्वास्थ्य संगठनलाई आफुले दिदै आएको सहयोग रोक्ने निर्णय गरेको छ ।

पत्रकारहरुसगको नियमित भेटघाटका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओको भूमिका निष्पक्ष नरहेको साथै प्रभावकारी काम गर्न समेत विश्व स्वास्थ्य संगठन असफल रहेको बताएका छन् । त्यसैले आफुले आफ्नो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको बताएका छन् ।

पत्रकारहरुसग छलफलको क्रममा राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको र कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप समेत लगाएका छन् । विश्व स्वास्थ्य संगठनको गल्तीका कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको ट्रम्पको ठहर छ । कोरोना भाइृरसका कारण विश्वमा धेरै मानिसले ज्यान गुमाएकोमा  यसको सबै जिम्मेवारी विश्व स्वास्थ्य संगठनले लिनुपर्ने पनि राष्ट्रपति ट्रम्पले बताए ।

विश्व स्वास्थ्य संगठन संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र हो । गत वर्ष अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई ४ सय मिलियन डलर अथात विश्व स्वास्थ्य संगठनको कूल बजेटको करिब १५ प्रतिशत उपलब्ध गराएको थियो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमित देशहरु मध्ये अमेरिका सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा ६ लाख १३ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ भने २६ हजार ४७ जनाले ज्यान गुमाईसकेका छन् ।