नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सिद्धिचरण नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता र खाजा खर्च दिने

ओखलढुङ्गान्युज, चैत ३० ओखलढुङ्गा कोरोना भाईरस संक्रमणको रोकथामका लागि खटिने नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई सिद्धिचरण नगरपालिकाले प्रोत्साहन भत्ता दिने भएको छ । शुक्रबार बसेको सिद्धिचरण नगरकार्यपालिकाको बैठकले कोरोना भाईरस संक्रमण नियन्त्रणमा खटिने नगरपालिका क्षेत्रभित्रका स्वास्थ्यकर्मीहरुलाई एक महिनाको तलब बराबरको प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको बैठकले कोरोना भाईरस संक्रमणको नियन्त्रणमा खटिने तथा हेल्प डेस्कमा बसेर नागरिकहरुलाई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई खाजा खर्च वापत दैनिक ३ सय रुपैया पनि उपलब्ध गराउने निर्णय गरेको छ । शनिवार नगरपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले यस्तो जानकारी दिनुभएको हो । विश्वमा कोरोना भाईरसको महामारीको सन्त्रास फैलिरहेका  बेला स्वास्थ्यकर्मीहरुको मनोबललाई उच्च बनाउने उद्धेश्य सहित नगरपालिकाले उक्त निर्णय गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख श्रेष्ठले कोरोना भाईरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि हालसम्म सिद्धिचण नगरपालिकाबाट सम्पादन गरिएका कामहरुको बारेमा समेत जानकारी गराउनुभएको थियो । संभावित कोरोना संक्रमतिहरुलाई मध्यनजर गर्दै नगरपालिकाले सदरमुकाममा रहेका २ ओटा अस्पतालमा ११ बेडको आईसोलेशन कक्ष र ५० बेडको क्वारेन्टाईन निर्माण गरिएको पनि पत्रकार भेटघाटमा नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले हाल नगरपालिकाको कार्यालय  र रमाईलोडाँडामा रहेको जिरो प्वाईन्टमा स्वास्थ्य सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याएको छ ।