नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सिद्धिचरण नगरपालिकाले बनायो राहत वितरण सम्बन्धि मापदण्ड

ओखलढुङ्गान्युज, चैत २९ ओखलढुङ्गा विश्वभर आतंक फैलाईरहेको कोरोना भाईरसको संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण खाद्यान्न समस्यामा परेकाहरुलाई सिद्धिचरण नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । नगरपालिकाले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकवर्ग तथा असहायहरुलाई दैनिक जिवन यापनका लागि वितरण गर्ने राहत सम्बन्धिको मापदण्ड तयार गरेको हो । सिद्धिचरण नगर कार्यपालिकाको चैत २८ गते बसेको आकस्मिक बैठकले राहत वितरण सम्बन्धि मापदण्ड तयार गरेको हो ।

नगर कार्यपालिकाको बैठकले तय गरेको मापदण्ड अनुसार लक्षित समूहलाई तिन श्रेणीमा विभाजन गरेर राहत प्याकेज दिने निर्णय गरेको हो । जस अनुसार दुईजना सम्म सदस्य भएको परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन र आधा लिटर खाने तेल उपलब्ध गराईने छ । त्यस्तै पाँचजना सम्म सदस्य भएको परिवारलाई १५ केजी चामल, डेढ केज दाल, १ केजी नुन र १ लिटर खाने तेल उपलब्ध गराईनेछ । पाँचजना भन्दा बढि सदस्य भएको परिवारलाई भने २० केजी चामल, २ केजी दाल, १ केजी नुन र डेढ लिटर खाने तेल उपलब्ध गराईनेछ ।

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकवर्ग तथा असहायहरुलाई दैनिक जिवन यापनका लागि वितरण गर्ने राहत सम्बन्धि मार्गदर्शन २०७६ अनुसार राहत वितरण गर्ने मापदण्ड तयार गरिएको नगरपालिकाका सूचना अधिकारी नईन्द्रराज राईले जानकारी दिनुभयो । सूचना अधिकारी राईका अनुसार सिद्धिचरण नगरपालिकाले राहत वितरण गर्नुपर्ने परिवारहरुको तथ्यांक संकलन गरिरहेको छ ।