नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुङ्गाका दुवैजनाको कोरोना भाइरस परीक्षण  रिपोर्ट नेगेटिभ

ओखलढुङ्गान्युज, चैत २२ ओखलढुङ्गा । कोरोना भाईरस संक्रमणको आशंकामा ओखलढुङ्गाको सामुदायीक अस्पतालको आईसोलेसनमा राखिएका दुईजना युवतीलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आईसोलेसनमा रहेका ती युवतीहरुको  स्वाबलाई गत विहिवार परीक्षणका लागि धरान पठाईएको थियो । 

कोरोना संक्रमणको आशंका गरिएकाको धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा जाँच गर्दा कोरोना भाइरस नभएको पुष्टि भएको हो । आईशोलेसनमा रहेका दुवैजनाको रिपोर्ट शुक्रबार बेलुकी अबेर आएको र प्रयोगशाला रिपोर्ट नेगेटिभ आएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले दिनुभयो ।

भारतको सिलिगुडीवाट ओखलढुङ्गा आएका ती दुवैजना युवतीमा गत चैत १८ गते ज्वरो र रुघाखोकी देखिएपछि उनीहरुलाई सामुदायीक अस्पताल सोब्रुमा रहेको आईसोलेसनमा राखिएको थियो । सिद्धिचरण नगरपालिका वडा नं. १० घर भएका ती युवतीहरुलाई आइसोलेसनमा राखि उपचार भैरहेको र उनीहरुको अबस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

आईशोलेसनमा राखी उपचार भैरहेको ती युवतीहरुसँगै भारतबाट आएका सोही गाउँका अन्य ७ जनालाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरु ७ जनालाई नै ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाईनको नेपाली सेना र सशस्त्र प्रहरी गुल्म ब्यारेक ओखलढुङ्गाको टिमले सुरक्षा दिई रहेको छ ।