नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

आजवाट ओखलढुङ्गामा सबै प्रकारका सवारी साधन चलाउन प्रतिबन्ध

ओखलढुङ्गान्युज, चैत ११ ओखलढुङ्गा । मंगलवारवाट ओखलढुङ्गामा एक हप्ताका लागि कुनै पनि सवारी साधन नचल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले शोमवार अबेर एक आदेश जारी गर्दै यो प्रतिवन्ध जारी गरेको हो ।

फ्रान्सवाट आएकी एक युवतीमा शोमबार कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएसगै कोरोनाको संक्रमण फैलन नदिन सजकता स्वरुप ओखलढुङ्गामा यो आदेश जारी गरिएको हो । जारी गरिएको आदेश अनुसार आज मंगलवार विहान ६ बजे देखी चैत १८ गते विहान ६ बजे सम्म यो आदेश लागू हुनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक भएकोले संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम आदेश जारी गरिएको प्रशासनको आदेशमा उल्लेख छ ।

आदेश अनुसार औषधी उपचार, खाद्यबस्तु खरिद जस्ता अत्यावश्यक काममा भने बाहिर निस्कन प्रतिबन्ध छैन । त्यस्तैगरि अनुमती प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र एम्बुलेन्स बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन साथै मोटरसाईकललाई समेत सञ्चालनमा पूर्ण रुपमा रोक लगाईएको छ । यो ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुमा समेत लागू हुने आदेशमा उल्लेख छ । 

आदेशको अबधीमा पनि स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, दुध, विद्युत, सूचना तथा सञ्चार, क्वारेन्टाईन, फोहोर मैला व्यबस्थापन तथा कार्यालय सञ्चालनमा आबश्यक पर्ने कर्मचारी भने उपस्थित हुने काम निरन्तर हुनेछ । त्यस्तै अस्पताल, स्वास्थ्य संस्था, औषधी पसलहरु तथा पेट्रोलपम्पहरु भने २४ घण्टा नै सञ्चालनमा रहनेछन् ।

यो अबधीभरमा कुनै पनि व्यक्तिले आदेशको उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कार्बाही गरिने पनि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिरकारी गणेश आचार्यले जारी गरेको आदेशमा उल्लेख छ । यो संकटपूर्ण घडीमा आमनागरिकहरुले पनि आत्मसंयम अपनाई सहयोग गर्नु आम नागरिकहरुको दायीत्व हुनेछ ।