नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मोलुङ गाउँपालिकाको प्राप्चामा कृषि मेला प्रदर्शनी

ओखलढुङ्गान्युज, फागुन २०, ओखलढुङ्गा । मोलुङ गाउँपालिकामा शोमबार कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । मोलुङ गाउँपालिका कृषि शाखाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राप्चा बजार व्यबस्थापन समितिको आयोजनामा प्राप्चामा कृषि प्रदर्शनी मेला सम्पन्न भएको हो ।

मोलुङ गाउँपालिका वडा नं. ३ को साविकको हटिया लाग्ने स्थानमा कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको हो । पौष २८ गते देखी पालिकाको मुकाम रहेको नजिकै गाउँपालिकाको पहलमा हटिया बजारको शुभारम्भ गरिएको छ । गाउँपालिकाको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गतको भएपनि हटिया बजारको प्रचार प्रसार सगै कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको गाउँपालिका सूचना अधिकृत गोपाल नेपालले जानकारी दिनुभयो ।

सोमबार आयोजना गरिएको मेलामा १० बिधामा उत्कृष्टक कृषकहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र समेत प्रदान गरिएको छ । कृषि प्रदर्शनी मेलामा मोलुङ गाउँपालिकाका १ सय भन्दा बढि कृषकहरुले सहभागीता जनाएको सूचना अधिकृत नेपालले जानकारी दिनुभयो । प्रदर्शनी मेलामा सहभागीता जनाएका कृषकहरुले खाद्यान्न वाली, तरकारी बाली, फलफूल बाली, दलहन बाली, नगदे बाली, मसला बाली, जरेबाली लगायतका कृषि उपज प्रदर्शनी गरेका थिए ।

कृषि प्रदर्शनी मेलामा सहभागी भएका उत्कृष्ट एवम् विजयी कृषकहरुलाई गाउँपालिकाको तर्फवाट नगद पुरस्कार स्वरुप प्रत्येक विधामा प्रथम हुनेलाई ४ हजार प्रदान गरिएको थियो । त्यस्तै  द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई १ हजारका दरले नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरेको थियो ।

मोलुङ गाउँपालिकाले ‘कृषि पर्यटन हरियाली वन, समृद्ध मोलुङको खुसियाली मन’भन्ने नाराका साथ कृषि प्रदर्शनी मेलाको आयोजना गरेको थियो । विजेता कृषकहरुलाई मोलुङ गाउँपालिकाका कृषि विकास समितिका संयोजक टंकनाथ दाहाल लगायत स्थानीय वडा अध्यक्षहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।