नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

बिषादी रहित तरकारी उत्पादन गर्न सल्लेरीमा कृषक पाठशाला

ओखलढुंगान्युज, माघ २६ ओखलढुंगा । सिद्धिचरण नगरपालिका ८ सल्लेरीमा रहेको लालीगुराँस कृषि समुहका सदस्यहरुले बिषादीरहित तरकारी उत्पादनलाई बढावा दिन अग्र्यानिक उत्पादनलाई जोड दिएका छन् । कृषकहरुले उत्पादन गर्ने तरकारीलाई अग्र्यानिक बनाउने उद्धेश्यका साथ सल्लेरीमा कृषक पाठशाला मार्फत अभ्यास सुरुवात गरिएको हो ।

गत भदौ महिनाबाट तिन हप्ताको तयारी सहित १९ हप्ते कृषि पाठशाला मार्फत बिषादी रहित तरकारी उत्पादनलाई जोड दिइएको हो । विषादीरहित तरकारी उत्पादनका लागि अग्र्यानिक कृषि तरकारी खेतीलाई बढावा दिन उक्त पाठशाला सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।

१९ हप्ता सम्म सञ्चालन भएको कृषि पाठशालामा कृषि समुहका ३० जना कृषकहरुको सहभागीता रहेको कृषि ज्ञान केन्द्रका प्राबिधिक सहायक टिका बानियाँले जानकारी दिनुभयो । मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याउने बिषादीहरु अनाधिकृत रुपमा प्रयोग भैरहेकाले त्यस्ता बिषादीलाई न्युनिकरण गरी अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्न पाठशालाले महत्वपूर्ण भुमिका खेलेको बानियाले बताउनुभयो ।

सञ्चालन भएको १९ हप्ते पाठशालामा सहभागी कृषकहरुमार्फत तिन जातको काउली बालीको परिक्षण उत्पादनलाई जोड दिएको थियो । जसमा स्नोस्टीक, स्नोक्राउन र ह्वाईटप नामक काउली बालीको अग्र्यानिक परिक्षण गरिएको थियो । यी मध्ये उत्पादनमा केही बढी समय लागेपनि तौल तथा उत्पादन बढी हुने स्नोस्टीक र स्नोक्राउन जातको काउलीबाली प्रति कृषकहरुको आकर्षण बढेको पाईएको वानियाले बताउनुयो ।

तालिमको समापन गर्दै सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले बजारमा देखा परेको बिषादीयुक्त तरकारीलाई बिस्थापित गरी अग्र्यानिक उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो । कृषक पाठशाला मार्फत कृषकहरुले सिकेको सिपलाई ब्यवहारमा लागु गर्न तथा अग्र्यानिक उत्पादनलाई निरन्तर बढवा दिन कृषकहरुलाई सुझाव समेत दिनुभयो । व्यबसायीक कृषिलाई प्रोत्साहन गर्नका लागि सिद्धिचरण नगरपालिकाले कृषि क्षेत्रको लगानीमा आगामी दिनमा समेत प्राथमिकतामा राखेर अगाडी बढ्ने समेत उपप्रमुख गुरुङले प्रतिबद्धता जनाउनुभयो ।