नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आज स्वस्थानीको व्रतको समापन गरिदै

ओखलढुङ्गान्युज, माघ २६ ओखलढुङ्गा । आज माघ शुक्ल पूर्णिमा । अर्थात स्वस्थानी व्रतको समापनको दिन । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रतको आज समापन गरिँदै छ । स्वस्थानी ब्रतको समापनको अबसरमा काठमाण्डौंको सालीनदीमा श्रद्धालु तिर्थालु भक्तजनहरुको भिड लागेको छ ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा तथा कथा प्रबचन गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि शुरु गरिएको स्कन्दपुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । 

विधिपूर्वक एक महिनासम्म व्रत गरेका ब्रतालुहरुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई वर्तको कामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने वर्त विधि छ । कथामा उल्लेख भए अनुसार सय रोटी ब्रतालुले फलाहारको रुपमा प्रयोग गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा पनि देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । आइतबार मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसी सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी ब्रत समापन हुनेछ ।