नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ओखलढुङ्गाको चम्पादेवीमा फेरि बोलेरो दुर्घटना, १ को अबस्था गम्भिर

ओखलढुङ्गान्युज, माघ २० ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँ पालिकामा फेरि शोमबार साँझ बोलेरो दुर्घटनामा परेको छ । चम्पादेवी गाउँ पालिकाको कार्यालय ताप्केडाँडाबाट यात्रु लिएर फर्किएको स १ च १४८९ बोलेरो दुर्घटनामा परेको हो । चम्पादेवी गाउँ पालिका वडा नं ५ को पोखरे नजिकै भालुडाँडा भन्ने स्थानमा बोलेरो दुर्घटनामा परेको हो ।

बोलेरो दुर्घटनामा पर्दा त्यसमा सवार एकजना गम्भीर घाइते भएका छन् । बोलेरोमा सवार अन्य यात्रुलाई पनि सामान्य चोट लागेको बताइएको छ । बोलेरोमा सवार चम्पादेवी गाउँपालिका वडा नं ८ का ज्ञान बहादुर खत्री गम्भीर घाइते भएको चम्पादेवी गाउँपालिका वडा नं ५ का कार्यबाहक वडा अध्यक्ष चन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । गम्भीर घाइते भएका खत्रीलाई उद्दार गरि उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको पनि कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यालयमा सेवा लिएर फर्किँदै गरेको चम्पादेवी गाउँपालिका वडा नं ८ र ९ का नागरिकहरु चढेको बोलेरो दुर्घटनामा परेको हो । बोलेरोमा क्षमता भन्दा बढी १६ जना यात्रु रहेको स्थानियले बताएका छन् । बढी यात्रु रहेकोले बोलेरोले उकालोमा तान्न नसकी ब्याक सर्दै पल्टिएको बताइएको छ । फेदिगुठमा नै बोलेरो दुर्घटनामा परि एकजनाको ज्यान गएको एक हप्ता नबित्दै अर्को दुर्घटना भएको हो ।