नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

तिङ्लामा भएको झडपमा प्रहरीले गोली चलायो

ओखलढुङ्गान्युज, माघ ४ सोलुखुम्बु । सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्नका लागि आयोजना गरेको कार्यक्रममा प्रहरीले गोली चलाएको छ । सोलुखुम्बुका  तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्नका लागि आयोजित कार्यक्रम विथोलेपछि प्रहरीले गोली चलाएको हो ।

राष्ट्रिय विद्युत प्रसारण लाईनमा जोड्ने कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लावासीले अवरोध गर्दै ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्याँस प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । झडपका क्रममा केही प्रहरी र केही प्रदर्शनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङलावासीले विरोध र बहिस्कार गर्दै तिङ्ला बन्दको घोषणा गरेका थिए ।

तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११, तिङ्लामा विद्युतीकरण नगरी वडा नम्बर–८ को पत्तालेमा प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम राखिएको भन्दै तिङ्लाबासीले कार्यक्रमको विरोध गरेका हुन् ।

बन्दकर्ताले कार्यक्रम उद्घाटन कार्यक्रममा रहेका १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् । तिङ्ला बन्द हुँदा ओखलढुङ्गा–सल्लेरी–फाप्लु सडक खण्डमा गाडी र यात्रु अलपत्र परेका छन् । तिङ्लावासीको विरोधका कारण आजका लागि तय गरिएको प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित गरिएको छ ।