नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

पैरवी सञ्जालले बुझायो जिल्ला समन्वय र जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र

ओखलढुङ्गान्युज, पौष २० ओखलढुङ्गा । जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले आज (आईतवार) जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लामा पछिल्लो समय नागरिक चासोको विषय बनेको सामुदायीक अस्पताल ओखलढुङ्गाको सेवा प्रवाह र निर्माणाधिन सामुदायीक विद्यालयको विषयमा केन्द्रित रहेर पैरवी सञ्जालको तर्फवाट ध्यानाकर्षण पत्र बुझाईएको हो ।

विगत ५० वर्ष अगाडी देखि ओखलढुङ्गा लगायत आसपासका जिल्ला क्षेत्रमा सामुदायीक अस्पताल (मिसन) ले सेवा प्रदान गर्दै आएको छ । सेवा प्रवाहका क्रममा अस्पताल प्रशासन भित्र भैरहेको समस्या तथा गुनासाका बारेमा बेलाबेलामा अस्पताल आफैले भित्रै मिलाउने गरेको भएपनि पछिल्ला दिनहरुमा भने त्यस्ता घटना सार्वजनिक हुन थालेका छन् । केही दिन अगाडी घटेको सुत्केरीको अप्रेसनको विषयलाई लिएर सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन तथा प्रशारण भएपछि अस्पतालका स्वास्थ्य कर्मचारीहरुले कसरी विरामीको उपचार तथा चेकजाँचमा लापरबाही गर्छन् भन्ने छर्लङ्ग बनाएको छ ।

आज (आईतवार) बुझाईएको ध्यानाकर्षणपत्रमा भनिएको छ, “पछिल्लो समयमा सामुदायीक अस्पतालले प्रदान गर्ने सेवा सुबिधाको बारेमा उचित चेकजाँच तथा सल्लाह नदिएको, जसका कारण विरामीहरुलाई समस्या भै थप उपचारका लागि अन्यत्र लानु परेको सञ्चारकर्मीहरुसग सेवाग्राहीहरुले गुनासो गर्दै आएका छन् । अस्पताल भित्रको सरसफाई र स्वास्थ्यकर्मीहरुको व्यबहारका बारेमा पटक पटक कुरा उठ्दै आएको छ । विरामीले समस्या सुनाउदा गाली गर्ने, झर्कने तथा प्रसुतीका विरामीले पिडामा रुने कराउने गर्दा पिट्ने सम्म गरेको भन्ने गुनासो पिडितहरुले सञ्चारकर्मीहरुसँग गुनासो गरिरहेका छन् । साथै सामुदायीक अस्पतालबाट विपन्न नागरिकहरुलाई दिईने छुट सुबिधाका बारेमा समेत प्रश्न चिन्ह खडा भएको छ । सामुदायीक अस्पतालको व्यबस्थापन पक्ष मौन छ । उपचार र रेखदेखका क्रममा भएको त्रुटी र कमजोरीले गम्भीर अबस्था सृजना भएका विरामीले अहिलेपनि अस्पतालमा नै उपचार गरिरहेको पाईएको छ । त्यसैले यस विषयमा अस्पताल प्रशासन, व्यबस्थापन पक्ष र सरोकारवाला पक्षबिच छलफल गरि समाधानका लागि आवश्यक पहल गर्न यो ध्यानाकर्षण पत्र बुझाएका छौं ।”

आज बुझाईएको ध्यानाकर्षणपत्रमा भूकम्प पश्चात निर्माण भएको कतिपय विद्यालयहरुको निर्माण कार्य सकिसक्दा पनि  समुदायमा हस्तान्तरण हुन सकेको छैन । चिसो जाडोमा पनि टिनको छाना र वाँसको टाट्नो भित्र विद्यार्थीहरु पठनपाठन गर्न बाध्य रहेका छन् । भूकम्पवाट जोखिमयक्त भनि रातो स्टिकर लगाईएको विद्यालयको स्टिकर हटाई जोखिम युक्त ठाँउमा नै पठन पाठन गर्न बाध्य भएकोले त्यसका बारेमा समेत सम्बन्धित पक्षहरुलाई राखी चाडो समस्याको समाधानका लागि ध्यानाकर्षण गराईएको छ ।

ध्यानाकर्षपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठले अस्पतालको बारेमा केही कुरा सुनिनमा आएपनि आफूलाई सबै बास्तविकता थाहा नभएको भन्दै जिल्ला समन्वय समिति अस्पताल व्यबस्थापन समितिको प्रमुख भएको हैसियतले चाडै सरोकारवालाहरुसँग वसी निकास निकाल्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिरकारी गणेश आचार्यले सामुदायीक अस्पतालको बारेमा नागरिकहरुले आफुलाइृ पनि बेलाबेलामा गुनासो गर्ने गरेको बताउनुभयो । नागरिकहरुले गुनासो गर्ने गरेका छन् । पहिला एकपटक अस्पताल प्रमुखलाई बोलाएर गुनासोका बारेमा छलफल पनि गरेको थिए । पछिल्लो घटनाक्रमका बारेमा पनि आफुले नियाली रहेको भन्दै यसवारेमा पैरवी सञ्जालले देखाएको चासोप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै यस समस्याको बारेमा र शिक्षामा देखिएको समस्याका बारेमा चाडै सरोकारवालाहरुलाई राखेर छलफल गर्नेसमेत प्रमुख जिल्ला अधिकारी आचार्यले प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाको तर्फवाट बुझाईएको ध्यानाकर्षणपत्रमा जिल्लामा कृयाशिल नागरिक समाज संस्थाका प्रमुख प्रतिनिधी तथा सञ्चारकर्मीहरु गरि एकदर्जन बढिले हस्ताक्षर गरेका छन् । पौष १९ गते ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल ओखलढुङ्गा र सोच नेपाल ओखलढुङ्गाको समन्वयमा भएको जिल्ला पैरवी सञ्जालको बैठकले यी विषयमा जिल्ला समन्वय समिति ओखलढुङ्गा, सिद्धिचरण नगर कार्यपालिका ओखलढुङ्गा तथा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो ।