नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

भ्रष्ट्राचार न्यूनिकरणकालागि सबैपक्ष सजग हुनुपर्नेमा अर्थ समिति सभापति खड्काको जोड

ओखलढुङ्गान्युज, मंशिर 24 ओखलढुङ्गा ।  प्रदेश नम्बर १ का अर्थ समिति सभापति एवम् ओखलढुङ्गाका सांसद मोहन कुमार खड्काले भ्रष्टाचार न्युनिकरण गर्नका लागि सबैपक्ष सजग रहनुपर्ने बताउनुभएको छ । ओखलढुङ्गामा शोमबार आयोजित भ्रष्ट्राचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्बर ९ को अबसरमा आयोजित भ्रष्टाचार नियन्त्रणका लागि हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खड्काले यस्तो बताउनुभएको हो । अन्तरक्रिया कार्यक्रममा सभापति खड्काले सरोकारवाला सबैपक्ष जिम्मेवार भएमात्र अनियमितता रोक्न सकिने बताउनुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै  सभापति खड्काले नेपालको सन्दर्भमा नीतिगत भ्रष्ट्राचार बढी हुने गरेको भन्दै माथिल्लो तहमा नीति र तल्लो तहमा नियतिले भ्रष्ट्राचार बढाएको बताउनुभयो । नेपालमा राजनिति गर्नु भनेको कमाउन लाग्नु भन्ने अर्थ लाग्न थालेको बताउदै तल्लो तहमा हुने गरेका हरेक गलत कार्यको सजग नेपालीले आवाज उठाउनु पर्नेमा जोड समेत दिनुभयो । ठेकेदारहरु कम रकममा ठेक्का हाल्ने र काम नगर्ने प्रवृत्तिले भ्रष्ट्राचार मौलाएको पनि उहाँको भनाई छ ।

कतिपय निर्माण कम्पनी र उपभोक्ता समितिले लक्षितवर्ग र सरोकारवालालाई झुक्याएर काम गर्ने गरेको तथा नेपाली अक्षर राम्रोसँग पढ्न नजान्ने नेपाली जनतालाई अंग्रेजी शब्दले झुक्याएको उहाँको तर्क थियो ।  कुनैपनि आयोजना सुरु हुनु भन्दा पहिला नै त्यसको लागत, समय र जनसहभागीता भए त्यसलाई समेत उल्लेख गरेर  पूर्ण सुचना नेपाली नागरिकले बुझ्ने भाषामा राख्नुपर्ने बताउनुभएको थियो । भ्रष्ट्राचार र अनियमितता रोक्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनुका साथै सञ्चारमाध्यमले तथ्यमा आधारित भएर उठाएका सवालले भ्रष्ट्राचार रोक्ने सभापति खड्काको तर्क थियो ।

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा शोमबार नै जालपा मन्दिर देखी सदरमुकामको गणेशचोक सम्म प्रभातफेरी गरि सिद्धिचरण नगरपालिकाको कार्यालयमा पुगेर अन्तरक्रिया भ्रष्टाचार नियन्त्रणमा हाम्रो भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो । प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा सोच नेपाल तथा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल ओखलढुङ्गाको आयोजनामा साथै नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखा र जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाको सहकार्यमा सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले भ्रष्ट्राचार न्यूनिकरणका सवालमा सरोकारवालाले आ–आफ्नो ठाँउबाट पहल गर्ने प्रतिवद्धता जनाएका छन् भने अन्तरक्रिया कार्यक्रममको  भिजन एफएमबाट प्रत्यक्ष प्रशारण समेत भएको थियो ।