नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

बाला चतुर्दशीको अबसरमा बालन प्रतियोगिता, रामपुर प्रथम

ओखलढुङ्गान्युज, मंशिर ९ ओखलढुङ्गा । बाला चतुर्दशी पर्व २०७६ को अबसर पारेर मोलुङ गाउँपालिकाको जलजलेश्वर महादेवस्थान त्रिबेणीमा लोपोन्मुख बालन प्रतियोगिता सम्पन्न भएको छ । बालाचतुर्दशीको अबसरमा आईतवार राती सम्पन्न भएको बालन प्रतियोगितामा मोलुङको रामपुर बालन समूह प्रथम भएको छ । रामपुर समूह प्रथम हुदै नगद रु १५ हजारका साथमा प्रमाणपत्र समेत हात पारेको छ ।

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै र आफ्नो लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ बालन गीत प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुन्तादेवी वालन समूह द्वितिय, फुयाँल गाउँ बालन समूह तृतिय र सुनकोसी ८ बालन समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । विजयी भएका टिमहरुले क्रमशः द्वितियले नगद रु १० हजार, तृतियले नगद रु ७ हजार र सान्त्वना स्थान प्राप्त गर्नेले नगद रु ५ हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरेका छन् । विजयी टिमहरुलार्इं संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि माननिय सांसद सुनुवारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जिल्लाको यो महत्वपूर्ण स्थानको प्रचार प्रसारका लागि लोपोन्मुख संस्कृतीको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सम्बोधनका क्रममा सांसद सुनुवारले हाम्रो लोपहुन लागेको भाषा, संस्कार संस्कृतिको संरक्षण, जगेर्ना गर्न सबै आ–आफ्नो क्षेत्रबाट लागि पर्नुपर्ने भन्दै यस क्षेत्रको विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

प्रतियोगितामा मन्दिर आसपासका सुनकोशी गाउँपालिका र मोलुङ गाउँपालिकाका ६ ओटा टिमले सहभागीता जनाएका थिए । प्रतियोगीताको अबलोकनका लागि सांसद सुनुवारसँगै, नेकपा स्थायी आमन्त्रीत सदस्य पेशल खतिवडा, ओखलढुङ्गा जिल्ला समन्वय समिती सभापति जय बहादुर श्रेष्ठ , मोलुङ गाउँ पालिका अध्यक्ष मणिराज राइ उपाध्यक्ष हेम कुमारी तामाङ, शुनकोशी गाउँपालिका अध्यक्ष रुद्र प्रसाद अधिकारी लगायत पुग्नुभएको थियो । कार्यक्रमको समापनको क्रममा अवलोकनका लागि पुग्नुभएको अन्य अतिथिहरुले समेत भाषा संस्कृतीको संरक्षणको पक्षमा सम्बोधन समेत गर्नभएको मोलुङ गाउँपालिकाका सुचना अधिकृत गोपाल नेपालले जानकारी दिनुभयो ।