नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

सिद्धिचरण नगरपालिकाको सार्वजनिक सुनुवाईमा दुईबुदे प्रतिबद्धता

ओखलढुंगान्युज, कातिक २९, ओखलढुंगा । सिद्धिचरण नगरपालिका ओखलढुंगाले आफ्नो आर्थिक वर्ष २०७६।०७७ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सिद्धिचरण नगरपालिकाको वडा नं. ८ को कार्यालय सल्लेरी ओखलढुंगाको प्रांगणमा आज (शुक्रबार) सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अधिकांश सहभागीहरुले नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको सिमितता माथि असन्तुष्टि जनाएका छन् । सहभागीहरुले आगामी दिनमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्दा प्रत्येक वडामा सञ्चालनमा रहेका योजना उपभोक्ता समितिका अध्यक्ष तथा सम्बन्धित सरोकारवाला निकायका प्रमुखहरुलाई सहभागी गराउन मागपनि गरेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बेतिनीका रमेश धमलाले योजना उपभोक्ता समिति निर्माण गर्दा जनसहभागीता नभएको, बेतीनीमा १ करोडको खानेपानी योजना सञ्चालन गर्दा एकदिन पनि उपभोक्तासग छलफल नभएको बताए । खानेपानी योजना सञ्चालन गर्दा पाईपलाईन चाही घाम लाग्दा पग्लने खालको भएकोले त्यसको आवश्यक अनुगमन पश्चात कार्बाही प्रकृया अगाडी बढाउन माग गरे ।

त्यस्तै अर्का सहभागी कृष्ण बहादुर खत्रीले खानेपानी योजना सञ्चालनका लागि मुहान भएर सर्बे गरिसक्दा पनि योजना सञ्चालन नभएको र त्यसबारेमा जानकारी नभएकोले त्यसको जवाफ दिन माग गरेका थिए । अर्का सहभागी गुणराज धमलाले आगामी दिनमा सार्बजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दा वडामा सञ्चालन भएका योजनाका उपभोक्ता समितिका अध्यक्ष तथा सरोकारवाला कार्यालयका प्रमुखहरुलाई समेत उपस्थिती गराउन माग गरे ।

कार्यक्रमका सहभागीहरुले नगरपालिकाले सञ्चालन गरेको गरिबलाई टिनको छाना कार्यक्रम सञ्चालन गर्दा घरको साईज अनुसारको जस्तापाता उपलब्ध नहुदा घरमा जस्तापाता आएर पनि घर छाउन नसकेको, एउटै कृषक समूहले मात्रै पटक पटक अनुदानको व्यबस्था गरिएको, योजना सञ्चालन हुदा डुब्लीकेसन भएको भन्दै आवश्यक अनुसन्धान तथा कार्बाहीको लागि माग गरेका थिए ।

त्यस्तै वडा नं. १० का झनक धमलाले फरक क्षमता भएका नागरिकहरुका लागि नगरपालिकाले सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराउनुका साथै आगामी दिनको नगरपालिकाको योजनाका बारेमा जानकारी गराउन माग गरे । त्यस्तै अन्य सहभागीहरुले पनि सामुदायीक विद्यालयका लागि विनियोजन गरिएको कम्प्युटर शिक्षाको बजेटबाट विद्यालयमा आउनुपर्ने सबै प्रकारको सामाग्रीहरु उपलब्ध नभएको भन्दै त्यसको लागि नगरपालिकाले आवश्यक अनुगमन गरी कार्बाही प्रकृया अगाडी बढाउन माग गरेका थिए ।

सहभागीहरुले नगरपालिकाको वडामा केन्द्रिय विद्युत प्रसारण लाईन वितरण गर्नको लागि नगरपालिकाले १४ लाख बजेट विनियोजन गरेकोमा नेपाल विद्युत प्राधिकरण ओखलढुंगा शाखाले समेत सोही योजनालाई देखाएर अरु रकम हिनामिना गरेको भन्दै त्यसको आवश्यक अनुगमन तथा कार्बाही गर्न माग गरे । वडाको तर्फवाट सञ्चालनमा रहेको सडकहरु समेत अपुरो रहेको भन्दै त्यसलाई निरन्तरता दिई योजना सञ्चालनका लागि नगरप्रमुखसग माग गरे । भूकम्प पश्चात ढलेका घरहरु चाही आंशीकमा परेको तर केही नभएका घर भने पूर्ण क्षतिमा परेको भन्दै त्यसवारेमा आवश्यक सम्बोधन गर्नका लागि समेत माग गरे ।

सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको बारेमा मञ्चमा उपस्थिती रहनुभएका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सार्बजनिक सुनुवाई कार्यक्रममा उठान भएका कतिपय विषयहरु उजुरीको रुपमा समेत आफुले लिएको भन्दै केहीदिन भित्रै आफ्नै नेृत्वमा सम्बन्धित क्षेत्रमा अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै नगरप्रमुख मोहन कुमार श्रेष्ठले नागरिकहरुको मागलाई ध्यानमा राखेर अर्को सार्वजनिक सुनुवाई कार्यक्रम सिद्धिचरण नगरपालिकाको वडा नं. १० बेतिनीमा सञ्चालन गर्ने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले तालिमको दौरानमा जिल्ला बाहिर रहनुभएका उपप्रमुख ईच्छा कुमारी गुरुंग जिल्ला आउनुभएपछि सामुदायीक विद्यालयको अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै नागरिकहरुले उठान गरेको खानेपानी, विद्युत तथा सिंचाई पोखरी र सडकको गुनासोका बारेमा पनि स्थलगत सम्बन्धित कार्यालयका प्रमुख तथा ईञ्जिनियरहरुको सहभागीतामा नै अनुगमन गरि आवश्यक कार्बाही प्रकृया अगाडी बढाउन प्रतिबद्धता जनाउनुभयो ।

संघिय संरचनाको निर्माण पश्चात स्थानीय उपभोक्ताहरुको माझमा रहेर नागरिकहरुको गुनासोका लागि सम्बोधन गर्न सार्वजनिक सुनुवाई गर्ने मोलुंग गाउँपालिका पहिलो हो भने सिद्धिचरण नगरपालिका दोश्रो हो । ओखलढुंगाका ८ स्थानीय तहमा अर्को चम्पादेवी गाउँपालिकाको एउटा वडाले सार्वजनिक सुनुवाई गरेपनि अरु कुनैपनि स्थानीय तहले सार्वजनिक सुनुवाई गरेका छैनन् ।

सिद्धिचरण नगरपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमको ईन्सेक ओखलढुंगाले सहजिकरण गरेको थियो । त्यस्तैे नगरपालिकाले प्रदान गरेको सेवा प्रबाहको अवस्थाको बारेमा नागरिकहरुको अभिमत संकलन भने सोच नेपालको तर्फवाट गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा योजना उपभोक्ता समिति निर्माण गर्दा जनसहभागिता र पारदर्शितालाई सुनिश्चितता गर्ने तथा वडा नं. १० मा सञ्चालनमा रहेको निर्माणाधीन योजनाहरुको बारेमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गर्ने प्रतिबद्धता जनाईएको छ ।