नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

पोकली सांस्कृतिक महोत्सव, पहिलो दिन नेतालाई दोश्रो दिन कलाकारलाई

विवेश श्रेष्ठ, कात्तिक १७ ओखलढुङ्गा । नेपालको दोश्रो अग्लो झरनाको रुपमा रहेको पोकली झरनामा सांस्कृतिक महोत्सव सुरु भएको छ । पोकलीमा पोकली झरना सांस्कृतिक महोत्सव शनिवारवाट सुरु भएको हो । सांस्कृतिक महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उद्घाटन गर्नु भएको थियो ।

सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारको काम देखेर विपक्षीहरु तर्सिएको बताउनुभएको छ । मन्त्री अर्यालले सरकारले जनताको भावनाअनुसार काम गरेर लोकप्रियता कमाएसँगै विपक्षी तर्सिएको बताउनुभएको हो । विपक्षी तर्सीरहेपनि बर्तमान सरकार जनताको भावना अनुसार अघि बढि रहने बताउदै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैजना आ–आफ्नो ठाँउवाट लागि पर्न समेत आग्रह गर्नुभयो । मुलुक समृद्ध बन्न गाउँ–गाउँदेखि विकासको अभियान थालिएको बताउँदै पोकली झरनाजस्ता प्राकृतिक सौन्दर्यता र स्थानीय संस्कृतिको प्रचार गरेर भ्रमण वर्षमा पर्यटक ल्याउन सके विश्वमा नेपालको पहिचान स्थापित हुने मन्त्री अर्यालको भनाई छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले पोकली झरना क्षेत्रमा पूर्वाधार विकासका लागि रु ५० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि जिल्लामा रहेका ऐतिहासिक, धार्मीक, सांस्कृतिक सम्पदाहरुको प्रचार–प्रसार गर्दै ओखलढुङ्गामा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउनका लागि चाडै सेप्ली झरना महोत्सव गर्न लागिएको समेत सांसद सुनुवारले बताउनुभयो ।

प्रदेश नं १ का अर्थसमिति सभापति तथा ओखलढुङ्गा निर्वाचन क्षेत्र नं. ख का सांसद मोहन खड्काले १ नम्बर प्रदेशलाई पर्यटकीय प्रदेशका रुपमा चिनाउन सरकार लागिपरेको बताउनुभयो । प्रदेश सरकारले पर्यटक प्रवद्र्धनका लागि वर्षेनी प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको उहाँको भनाइ थियो ।

नेपाल सरकारले ओखलढुङ्गाको पोकली झरना र थोलेदेम्बाडाँडालाई सरकारको सय पर्यटकीय गन्तव्य सूचिमा राखेको छ । प्रदेश सरकारको बजेट मार्फत ककनी, चम्पादेवी, लिब्जुसहितका धार्मिकस्थल सेप्ली, रातमाटे सहितका झरना, चिशङ्खुगढी सहितका क्षेत्र, स्रष्टा उद्यान सहितका दर्जनौँ पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम भइरहेको छ ।

कातिक १६ र १७ दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन शनिबार स्थानीय जातजातिको पहिचान झल्काउने झाँकी प्रदर्शन गरिएको थियो । स्थानीय झाँकी सगै पोकलीमा उपस्थित भएका कलाकारहरुले दमदार प्रस्तुती गर्ने कार्यक्रम रहेको भएपनि पहिलो दिन भने स्टेजमा रहेका नेताहरुलाई मात्र समय प्रदान गरिएको छ ।

पहिलो दिन समय अभाव भएपनि दोश्रो दिन भने कृष्ण कडेँलको नेतृत्वमा रहेको चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणी कलाकार समूह र स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको दमदार प्रस्तुती रहने लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुङ्गेलले जानकारी दिनुभयो । महोत्सव पश्चात नेपाल भ्रमण वर्ष २०२० मा पोकलीमा २० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।