नेपाली समय Loading...२०८३ श्रावण २४, आइतवार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

ओखलढुङ्गान्युज, कार्तिक ९ ओखलढुङ्गा । हिन्दुहरुको महान् दोश्रो ठुलो चाड तिहार घरघरमा भित्रीएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक अर्थात् तिहार शुक्रबारदेखि सुरु भएको हो ।  तिहार अन्तर्गत यमपञ्चकको पहिलो दिन आज कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ । शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

वैद्धिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूतको प्रतिकको रुपमा मानिन्छ । यस मान्यतानुसार कागलाई सन्देशवाहक (हुलाकी)को रुपमा पनि मानिदै आएको छ । आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण तर्फ फर्काएर दान गर्नुपर्ने धार्मिक विधि छ ।

भगवान विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई उनलाई वर्षमा पाँच दिन अर्थात कार्तिक कृष्णपक्षको त्रयोदशी तिथी देखि कार्तिक शुक्ल पक्षको द्वतीया तिथी सम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास रहिआएको छ । सो समयमा बलि राजाको पूजा गरेमा विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने परम्परा रहि आएको छ । यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको छ । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको नेपाल पञ्चांग समितिले जनाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । एघार गते बिहान ९ बजेर ४३ मिनेटसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्नेहुन्छ । कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको नेपाल पञ्चांग समितिले जनाएको छ ।

कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ । कात्तिक १३ गते बिहान ६ बजेर १८ मिनेटसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।